सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई के कारबाही हुन्छ ?
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको घटनाको प्रसंग उठाउँदै सुकुम्बासीलाई वितरण गरिएको खानामा किरा भेटिएको विषयमा सरकारसँग जवाफ मागिएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रेनु चन्दले गृहमन्त्रीलाई प्रश्न गर्दै अम्लेटमा माछाको काँडा भेटिएको घटनामा सम्बन्धित व्यवसायीलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको स्मरण गराइन्।
त्यसै सन्दर्भलाई जोड्दै उनले सुकुम्बासीलाई उपलब्ध गराइएको खानामा किरा भेटिएको घटनामा सरकारमाथि के कारबाही हुन्छ भन्ने प्रश्न उठाइन्।
‘मन्त्रीले खान लागेको अम्लेटमा काँडा भेटियो, तीन लाख जरिवाना लगाउनुभयो, त्यो ठीक गर्नुभयो,’ उनले भनिन्, ‘तर सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना लगाइँदैछ ? अथवा सरकारमाथि के कारबाही हुँदैछ ?’
सांसद चन्दले सुकुम्बासी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेर जनमत प्राप्त गरेको सरकारले अहिले उनीहरूमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप लगाइन्। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई समेत हटाउने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाइन्।
‘सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने, अनि सत्तामा पुगेपछि उठिबास लगाउने ? यही हो जान्नेलाई छान्ने भनेको ?’ उनले भनिन्, ‘अहिले सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट समेत लखेट्ने काम गरिरहेको छ।’
उनले आफूलाई नयाँ सोच र सबै समस्या समाधान गर्ने दाबीका साथ सरकारमा आएको बताउने नेतृत्वले अहिले सुकुम्बासी समुदायको मानवअधिकारमाथि नै आघात पुर्याएको आरोप पनि लगाइन्।
सांसद चन्दले सुकुम्बासीको खाद्य सुरक्षा, आवास र आधारभूत अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने मागसमेत गरिन्।
