`

इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ

Nepal One HD १३ असार २०८३ १३:५४
विश्व

एजेन्सी। इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको आर्थिक नीतिविरुद्ध आयोजित प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले २४ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

अधिकार समूह कन्ट्रास सुराबायाका अनुसार शुक्रबार आयोजित प्रदर्शनमा करिब १०० जना सहभागी भएका थिए। उनीहरूले इन्धनको मूल्यवृद्धि तथा सरकारको बहुचर्चित निःशुल्क भोजन कार्यक्रमको विरोध गरेका थिए।

प्रदर्शनका क्रममा केही सहभागीले प्रहरीमाथि ढुंगा प्रहार गर्नुका साथै सरकारी संरचनामा आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसपछि प्रहरीले बल प्रयोग गर्दै प्रदर्शन नियन्त्रणमा लिएको र २४ जनालाई पक्राउ गरेको अधिकार समूहले जनाएको छ।

सुराबाया प्रहरी प्रमुख लुथफी सुलिस्टियावानले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा हटाउने प्रयास सफल नभएपछि पक्राउ गर्नुपरेको बताएका छन्। उनका अनुसार सार्वजनिक सुरक्षामा असर पर्ने गतिविधि भएपछि प्रहरीले हस्तक्षेप गरेको हो।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी तेल आपूर्तिमा दबाब बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य करिब ३० प्रतिशतले बढाएको छ। यही निर्णयपछि इन्डोनेसियाका विभिन्न सहरमा विरोध प्रदर्शन चर्किएको बताइएको छ।

राजधानी जकार्तासहित अन्य सहरहरूमा पनि हजारौँ विद्यार्थी र सर्वसाधारणले इन्धनको मूल्यवृद्धि फिर्ता लिन तथा अर्बौँ डलर लागतको निःशुल्क भोजन कार्यक्रम रोक्न माग गर्दै प्रदर्शन गरेका छन्।

प्रबोवो सरकारको प्रमुख चुनावी प्रतिबद्धतामध्ये एक मानिएको निःशुल्क भोजन कार्यक्रम उपयोगितामाथि प्रश्न उठ्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *