इन्द्रचोक-विशाल बजार शुक्रपथमा परम्परागत सडकबत्ती [फोटो-फिचर]
काठमाडौं। काठमाडौं महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको मौलिकता जोगाउँदै शहरी सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकमा परम्परागत शैलीका सडकबत्ती जडान गरेको छ।
नयाँ सडक क्षेत्रको पुरानो पहिचानलाई आधुनिक व्यवस्थापनसँग जोड्ने प्रयासस्वरूप गरिएको यो कार्यले सम्पदा क्षेत्रको आकर्षण थप बढाएको महानगरले जनाएको हो।
महानगरका अनुसार ऐतिहासिक सम्पदा क्षेत्रको वास्तुकला र सांस्कृतिक वातावरणसँग मेल खाने डिजाइनका सडकबत्ती जडान गरिएको हो। यसबाट रातिको समयमा पैदलयात्री, स्थानीयवासी तथा सर्वसाधारणका लागि सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित हुनुका साथै सम्पदा क्षेत्रको दृश्य सौन्दर्य पनि अभिवृद्धि भएको छ।
साँझ परेपछि बल्ने यी परम्परागत शैलीका सडकबत्तीले इन्द्रचोकदेखि विशाल बजारसम्म फैलिएको व्यापारिक तथा पर्यटकीय क्षेत्रलाई नयाँ आकर्षण प्रदान गरेको छ। उज्यालोले ऐतिहासिक भवन, पुराना गल्ली र सम्पदायुक्त वातावरणलाई थप जीवन्त बनाएको स्थानीयवासीको भनाइ छ।
सडकबत्ती जडानपछि स्थानीय व्यवसायी, सर्वसाधारण तथा आन्तरिक एवं बाह्य पर्यटकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको महानगरले जनाएको छ। विशेषगरी रातिको समयमा क्षेत्र थप सुरक्षित, व्यवस्थित र आकर्षक देखिन थालेपछि व्यापारिक गतिविधि तथा पर्यटकको आवागमनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै सार्वजनिक पूर्वाधार विकासलाई अगाडि बढाइरहेको जनाएको छ। यस किसिमका योजनाले काठमाडौंको ऐतिहासिक पहिचान संरक्षण गर्नुका साथै पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र सुदृढीकरण र शहरी सौन्दर्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
तस्वीरहरू:













