‘संसदबाटै नेपाल-भारत सीमाबारे प्रधानमन्त्री बालेनले जवाफ दिनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले नेपाल-भारत सीमासम्बन्धी प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसदमा जवाफ दिनुपर्ने माग दोहोर्याएकी छन्।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद काउचाले नेपाली कांग्रेसले सुरुदेखि नै सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुभन्दा आफ्नो पार्टीको महाधिवेशनको मञ्च रोजेको आरोप लगाइन्।
‘नेपाल-भारत सीमासँग सम्बन्धित अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीबाट व्यक्त विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले पटकपटक स्पष्ट जवाफ मागिरहेका छन्,’ उनले भनिन्, ‘हाम्रो उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने होइन, बरु संसदको रेकर्डमा रहेको विषय सच्याएर नेपालको राष्ट्रिय हित, कूटनीतिक मर्यादा र प्रधानमन्त्रीको संस्थागत गरिमा जोगाउने हो।’
काउचाले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुभन्दा पार्टीको कार्यक्रममा प्रतिक्रिया दिन रुचाएको भन्दै असन्तुष्टि जनाइन्।
‘दुर्भाग्यवश ! प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुभन्दा आफ्नो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिन रुचाउनु भएको देखिन्छ,’ उनले भनिन्।
प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत वा दलगत धारणा मात्र नभई मुलुकको आधिकारिक राजनीतिक सन्देशका रूपमा हेरिने भएकाले त्यसबारे सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।
‘नेपालको प्रधानमन्त्रीले संसदभित्र वा बाहिर गर्ने प्रत्येक अभिव्यक्ति केवल व्यक्तिगत वा दलगत अभिव्यक्ति हुँदैन,’ उनले भनिन्, ‘त्यो नेपालको आधिकारिक राजनीतिक सन्देशका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा हेरिन्छ। त्यसैले प्रधानमन्त्रीको पदको गरिमा, अभिव्यक्तिको जिम्मेवारी र त्यसबाट पर्ने कूटनीतिक प्रभावबारे सरकार सदैव सचेत हुनुपर्छ।’
काउचाले प्रधानमन्त्रीले संसदप्रति उत्तरदायी हुँदै नेपाल–भारत सीमासम्बन्धी आफ्नो अभिव्यक्तिबारे प्रतिनिधिसभामै आएर स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरिन्।
