साउन १ बाट काठमाडौंमा ब्लु बस
काठमाडौं। सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सातै प्रदेशमा निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने योजना रहेको छ।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सरकारको पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ। बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग राय तथा सहमतिका लागि पत्राचार गरिसकेको छ। मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि पहिलो चरणमा साउन १ गतेदेखि सेवा सुरु गरिनेछ।
प्रारम्भिक चरणमा लगनखेल-बुढानीलकण्ठ रुटमा दुई वटा, थानकोट-नागढुङ्गा-विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछ। रिङरोडमा सञ्चालन हुने चार बसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा गुड्ने मन्त्रालयले जनाएको छ।
