`

सरकार जनसरोकारका विषयमा गम्भीर भएन : कांग्रेस

Nepal One HD १८ असार २०८३ १४:१६
नेपाली कांग्रेस

काठमाडौं । आफूहरूले निरन्तर उठाउँदै आएका विषयमा सरकारले गम्भीरता नदेखाएको भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्।

बिहीबार बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर सीमा समस्या लगायत आफूहरूले पटक–पटक उठाएका जनसरोकारका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै विरोधमा उत्रिएका हुन्।

विपक्षीको विरोधपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढालाई धारणा राख्न समय दिएका थिए।

सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाए। राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएको उल्लेख गर्दै उनले त्यसको निष्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्ने माग गरे।

उनले अघिल्लो सम्झौता खारेज गरेर पुरानै कम्पनीलाई बढी मूल्यमा ठेक्का दिन चलखेल भइरहेको आरोप पनि लगाए। संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र शक्तिशाली संवैधानिक निकायका रूपमा परिकल्पना गरेको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हस्तक्षेप भए निष्पक्ष छानबिन सम्भव नहुने उनको भनाइ थियो।

अन्य विपक्षी सांसदहरूले पनि आफूहरूले संसद्मा उठाएका विषयमा सरकारले बेवास्ता गरेको आरोप लगाउँदै जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बन्नुपर्ने माग गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *