अश्लील तस्बिर र भिडियोमार्फत ब्ल्याकमेल गर्ने लामिछाने पक्राउ
काठमाडौं। सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गर्ने, अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गर्दै ब्ल्याकमेल गर्ने आरोपमा नेपाल प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पीडित महिलाको निजी तस्बिर र भिडियो प्रयोग गरी पटक-पटक मानसिक दबाब सिर्जना गरिएको थियो।
पीडितले मागअनुसार व्यवहार नगरेपछि ती सामग्री ह्वाट्सएपमार्फत उनका परिवारका सदस्यलाई समेत पठाइएको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो।
उजुरीपछि ब्युरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-१० स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-१० बस्दै आएका ३५ वर्षीय मनिष लामिछानेलाई असार १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
साइबर ब्युरोका अनुसार पक्राउ परेका लामिछानेमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। यस सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको दुरुपयोग गरी कसैको निजी सामग्री प्रयोग गरेर धम्की दिने, ब्ल्याकमेल गर्ने वा चरित्रहत्या गर्ने कार्य कानुनविपरीत हुने भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।
साथै, यस्ता घटना भएमा तत्काल साइबर ब्युरो वा सम्बन्धित निकायमा उजुरी दिन पनि अनुरोध गरेको छ।
