दैलेख बस दुर्घटना : भीरबाट खसेर मृत्यु भएका एक जनाको सनाखत,गाडी अझै बेपत्ता
सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतारा क्षेत्रमा कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनामा मृत्यु भएका एक जनाको पहिचान खुलेको छ। दुर्घटनापछि कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीको खोजी भने अझै जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा ज्यान गुमाउने व्यक्ति कालीकोटको पचालझरना गाउँपालिका–९ का जोखे तिरुवा रहेका छन्। मृतकका बुबाले शवको सनाखत गरेपछि उनको पहिचान औपचारिक रूपमा पुष्टि भएको प्रहरीले जनाएको छ।
बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सांगेतारा क्षेत्रमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनापछि गाडी सडकबाट तल खसेर कर्णाली नदीमा बेपत्ता भएको थियो।
दुर्घटनापछि बेपत्ता गाडी तथा सम्भावित यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको छ। टोलीले नदीमा निरन्तर खोजी गरिरहेको भए पनि प्रतिकूल प्राकृतिक अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
महेश्वरी बाहिनीका प्रहरी उपरीक्षक करणसिंह धामीका अनुसार वर्षाका कारण कर्णाली नदीको पानी अत्यधिक धमिलो भएकाले गोताखोरलाई नदीभित्र खोजी गर्न कठिनाइ भइरहेको छ। यद्यपि सबै उपलब्ध स्रोत र जनशक्ति परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइएको उनले बताए।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन। त्यसैले बेपत्ता यात्रुको सम्भावित अवस्थाबारे पनि आधिकारिक जानकारी आउन बाँकी रहेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नदी क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ। साथै दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धानसमेत अघि बढाइएको प्रहरीले जनाएको छ।
