`

पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

Nepal One HD १९ असार २०८३ १४:०८
विश्व

इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वा प्रदेशको सीमावर्ती दाना सार क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।

बलुचिस्तानका अधिकारीहरूका अनुसार दुर्घटना सेरानी जिल्लामा भएको हो। क्वेटास्थित रेस्क्यु ११२२ का प्रवक्ताले बस बलुचिस्तानको क्वेटाबाट खैबर पख्तुनख्वाको पेसावरतर्फ जाँदै गरेको जानकारी दिएका छन्।

बलुचिस्तानका मुख्यमन्त्रीका सहायक साहिद रिन्दले दुर्घटनामा ४० जनाको ज्यान गएको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धानअनुसार बसले आफ्नो क्षमताभन्दा बढी यात्रु बोकेको बताएका छन्। उनका अनुसार बिग्रिएको अर्को बसका यात्रुहरूलाई समेत यही बसमा राखिएकाले यात्रु संख्या बढी भएको प्रारम्भिक अनुमान छ।

स्थानीय प्रशासनका अनुसार बस सडकबाट चिप्लिएर गहिरो खोँचमा खसेको थियो। दुर्गम भूभागका कारण उद्धार कार्य निकै कठिन भएको जनाइएको छ।

दुर्घटनास्थलबाट सार्वजनिक भएका तस्बिरहरूमा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिएको छ। सुरक्षा निकाय र उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *