`

विद्यालयलाई दलगत प्रभावबाट मुक्त नगरी शिक्षा सुधार सम्भव छैन : सभापति थापा

Nepal One HD १९ असार २०८३ १५:०९
प्रमुख खबर

काठमाडौं।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नुपर्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा बढ्दो राजनीतिकरण नभई ‘दलीयकरण’ नै मुख्य समस्या बनेको टिप्पणी गरे। उनका अनुसार विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकदेखि शिक्षक नियुक्तिसम्म दलगत आधारमा प्रभाव पार्ने प्रवृत्तिले समग्र शिक्षा प्रणाली कमजोर बनाएको छ।

थापाले शिक्षा आफैंमा राजनीतिक विषय भए पनि त्यसलाई दलगत स्वार्थका आधारमा प्रयोग गर्नु गलत भएको स्पष्ट पारे। उनले समुन्नत नेपाल निर्माणको लक्ष्यका लागि शिक्षा क्षेत्रको भूमिकाबारे गम्भीर बहस आवश्यक रहेको बताए।

उनले भने, ‘शिक्षामा राजनीति भयो भनिन्छ। शिक्षामा राजनीति होइन, दलीयकरण भएको हो। हामीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ। त्यो राजनीति होइन, दलीयकरण हो। दलीयकरणले शिक्षालाई कमजोर बनाएको छ।’

थापाका अनुसार विद्यालयको नेतृत्व संरचनामा दलगत हस्तक्षेपका कारण शैक्षिक गुणस्तर मात्र नभई संस्थागत विश्वसनीयतासमेत कमजोर भएको छ।

उनले शिक्षा क्षेत्रलाई राजनीतिक बहसको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याउँदै समृद्ध नेपाल निर्माणमा शिक्षाको योगदानबारे गम्भीर छलफल आवश्यक रहेको बताए।

थापाले सरकारले परीक्षा प्रणाली र नतिजा व्यवस्थापनलाई मात्र उपलब्धि ठान्ने प्रवृत्तिप्रति पनि आलोचना गरे। उनका अनुसार हतारमा परीक्षाफल प्रकाशित गर्ने अभ्यासले हजारौँ विद्यार्थी समस्यामा परेको अवस्था छ।

उनले कक्षा १० र १२ को परीक्षाफल व्यवस्थापनमा देखिएका समस्या संसदमार्फत उठाउने जानकारी समेत दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *