के देउवा पक्षले राष्ट्रिय भेला गर्दैछ?
काठमाडाैं। कांग्रेस सस्थापनइतर पक्षको बैठक गोल्फुटारमा जारी छ।
आजको बैठकमा संस्थापनइतर पक्षले पछिल्ला केही महिनायता सातै प्रदेशमा सम्पन्न प्रदेशस्तरीय भेलाको विस्तृत समीक्षा गर्ने कार्यसूची रहेको बताइएको छ। ती भेलामा पार्टी संगठनको अवस्था, आगामी महाधिवेशनको तयारी, नेतृत्व चयन, संगठन विस्तार, क्रियाशील सदस्यता, सरकार र पार्टीको भूमिकालगायत विषयमा उठेका धारणा तथा सुझावलाई समेटेर साझा निष्कर्ष निकाल्ने तयारी गरिएको स्रोतले जनाएको छ। प्रदेशस्तरबाट आएका सुझावका आधारमा इतर पक्षको आगामी रणनीति तय गर्ने उद्देश्यले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
बैठकमा पार्टीभित्र इतर पक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, विभिन्न नेताबीचको समन्वय सुदृढ गर्ने तथा आगामी दिनमा संगठनात्मक गतिविधिलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ। साथै, कांग्रेसभित्र देखिएको आन्तरिक शक्ति सन्तुलन, नेतृत्व व्यवस्थापन र महाधिवेशन केन्द्रित राजनीतिक तयारीका विषयमा समेत नेताहरूबीच धारणा आदानप्रदान हुनेछ।
यद्यपि बैठकका औपचारिक एजेन्डाबारे सार्वजनिक रूपमा कुनै जानकारी दिइएको छैन। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने नेताहरूबीच समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल गर्न अनौपचारिक रूपमा बैठक आयोजना गरिएको प्रतिक्रिया दिएका छन्। उनले बैठकलाई कुनै विशेष निर्णयका लागि नभई आपसी परामर्श र विचार–विमर्शका रूपमा लिन आग्रह गरेका छन्।
स्रोतका अनुसार संस्थापनइतर पक्षले निकट भविष्यमै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको छ। प्रदेशस्तरीय भेलापछि राष्ट्रिय स्तरमा नेता–कार्यकर्तालाई एकै ठाउँमा भेला गराएर साझा राजनीतिक धारणा निर्माण गर्ने, संगठनात्मक रणनीति तय गर्ने र आगामी महाधिवेशनलाई लक्षित गरी इतर पक्षको साझा अवधारणा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ।
आजको बैठकमा सम्भावित राष्ट्रिय भेलाको मिति, स्थान, स्वरूप, सहभागीको संख्या, व्यवस्थापन र एजेन्डाका विषयमा पनि विस्तृत छलफल हुने जनाइएको छ। राष्ट्रिय भेलामार्फत इतर पक्षलाई थप संगठित बनाउने, प्रदेशबाट आएका सुझावलाई केन्द्रीय तहमा समेट्ने तथा पार्टीभित्र आफ्नो राजनीतिक प्रभावलाई सुदृढ बनाउने रणनीतिमा नेताहरू केन्द्रित हुने स्रोतको भनाइ छ।
पार्टीको १५औँ महाधिवेशनको तयारी क्रमशः सुरु हुँदै गएको र नेतृत्व चयनको बहस पनि तीव्र बन्दै गइरहेका बेला संस्थापनइतर पक्षको यो बैठकलाई कांग्रेसको आन्तरिक राजनीतिका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकबाट राष्ट्रिय भेला, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिबारे साझा निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।
