`

जनताले पर बसेर भने- आममम…प्रधानमन्त्रीकाे त्यत्रो धेरै सुनको स्रोत के होला ?

Nepal One HD २२ असार २०८३ १३:२५
नेपाली कांग्रेस

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहकाे सुन र आफ्नाे पाखाेबारीबाट सम्पत्ति छानबिन थाल्न विपक्षी नेता भीष्मराज आङ्देम्बेले आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेनले विगत ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण नभएको बताउँदै आएको स्मरण गर्दै उनले प्रधानमन्त्री बनेपछि भने सार्वजनिक भएको सम्पत्ति विवरणमा ठूलो परिमाणमा सुन र बैंक मौज्दात देखिएकाले त्यसको स्रोतबारे प्रश्न उठेकाे बताए ।

आङ्देम्बेले भने, ‘३५ वर्षसम्म देशमा काम गर्ने वातावरण भएन भन्नुभयो प्रधानमन्त्रीजी। तर प्रधानमन्त्री भएलगत्तै प्रधानमन्त्रीजीको सम्पत्तिमा झण्डै दुई सय तोला सुन देखियो। करोडभन्दा बढी बैंक मौज्दात देखियो। नेपाली कांग्रेसले तपाईंले किन सुन आर्जन गर्नुभयो भनेर सोध्दैन र खोज्दैन। तर सुन आर्जनको स्रोत के हो? त्यो सोध्ने त विपक्षीको उत्तरदायित्व हो। उत्तरदायित्व निर्वाह गर्छौँ, यसबाट हामी भाग्दैनौँ।’

उनले भ्रष्टाचार नियन्त्रणको सुरुवात विपक्षी वा सत्ता पक्ष छुट्याएर होइन, देशको कार्यकारी नेतृत्व र प्रमुख विपक्षीबाटै हुनुपर्ने प्रस्ताव गरे।

‘सम्पत्ति छानबिनको सुरुवात म विपक्षी नेता भीष्मराज आङ्देम्बे र प्रधानमन्त्री बालेन्द्र शाहबाट होस्। मेरो पाँचथरको उम्लाबुङ (नवमीडाँडा)स्थित तीनघरे, सिलौटी र फुङ्सिङको पाखोबारीको छानबिन होस्। प्रधानमन्त्रीजीको झण्डै २०० तोला सुनको पनि छानबिन होस्,’ उनले भने।

आङ्देम्बेले आफूले प्रधानमन्त्रीमाथि अनियमितताकाे आरोप नलगाएको स्पष्ट पार्दै सम्पत्तिको स्रोतबारे उठ्ने सार्वजनिक जिज्ञासाको जवाफ दिनु नेतृत्वको दायित्व भएको बताए।

‘मलाई पटक्कै विश्वास छैन कि प्रधानमन्त्रीजीले दायाँबायाँ गरेर सुन आर्जन गर्नुभयो। तर तपाईंलाई मत दिएका मतदाताले पनि सोधिरहेका छन्- आममम… त्यत्रो धेरै सुनको स्रोत के होला? कहाँबाट आयो होला? त्यसैले प्रधानमन्त्रीजी, छानबिन गरौँ,’ उनले भने।

उनले पूर्वप्रधानमन्त्री, पूर्वउच्च राजनीतिक पदाधिकारी तथा उच्च कर्मचारीको सम्पत्तिको समेत छानबिन गर्नुपर्ने धारणा राखे। तर त्यसको सुरुवात अरूबाट नभई वर्तमान प्रधानमन्त्री र प्रमुख विपक्षी नेताबाटै हुनुपर्नेमा जोड दिए।

‘पूर्वप्रधानमन्त्रीहरूको पनि सम्पत्तिको छानबिन गरौँ। अरू पूर्व उच्च पदस्थ राजनीतिक र कर्मचारीको पनि गरौँ। तर सुरुवात अरूबाट होइन, हामीबाटै गरौँ। प्रधानमन्त्रीजी, तयार हो? म तयार छु। छानबिन आफूमाथि नगर्ने, अरूमाथि मात्रै गर्ने भन्ने हुँदैन,’ उनले चुनौती दिए।

सरकारको सय दिनको समीक्षा गर्दै आङ्देम्बेले सुशासन र भ्रष्टाचार नियन्त्रणका नाराले मात्रै पुग्ने नभई सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नै सम्पत्तिको स्रोतबारे पनि पारदर्शी र जवाफदेही बन्नुपर्ने धारणा व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *