`

सुकुम्बासीहरु नेपालमा जन्मिनु गैरकानुनी थिएन होला नि : आङ्देम्बे

Nepal One HD २२ असार २०८३ १३:३३
नेपाली कांग्रेस

काठमाडौं ।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई सरकारले रातारात धपाएकाे भन्दै आपत्ति प्रकट गरेका छन् । उनले सरकारको सफलता डोजर चलाउने क्षमताबाट नभई नागरिकको जीवन कति सुरक्षित बनायो भन्ने आधारमा मापन हुने बताएका छन्।

‘हामी सरकार सफल होस् भन्ने चाहन्छौँ, किनभने सरकार सफल हुँदा सफल हुने नेपाली जनता हुन्,’ उनले भने ‘नेपाली जनताको जीवनमा परिवर्तन आउने हुन्। तर सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन हुन्छ।’

उनले कुनै नागरिकको बसोबास गैरकानुनी हुन सक्ने भए पनि उसको अस्तित्व र मानवीय अधिकार गैरकानुनी नहुने तर्क गर्दै सरकारको दृष्टिकोणमाथि प्रश्न उठाए।

‘कुनै पनि नागरिकको बसोबास गैरकानुनी थियो होला। तर उसको जन्म त गैरकानुनी थिएन होला नि। जन्म दिने आमाको गर्भ त गैरकानुनी थिएन होला नि। ऊ नेपाली भूमिमा जन्मिनु पनि गैरकानुनी थिएन होला नि,’ उनले भने।

आङ्देम्बेले सुकुम्बासी समस्याको समाधान व्यवहारमुखी र दीगो ढंगबाट खोजिनुपर्नेमा जोड दिए। वैकल्पिक व्यवस्थाविना वर्षायामको मुखमा हजारौं परिवारलाई विस्थापित गर्नु राज्यको मानवीय संवेदनशीलतामाथि गम्भीर प्रश्न भएको उनको भनाइ थियो।

‘समाधानको नाममा हजारौँ सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा वैकल्पिक व्यवस्थाविना विस्थापित गरियो। त्यो सरकारको मानवीय संवेदना शून्य भएको क्षण थियो,’ उनले भने।

सरकारले कुनै परिवारलाई हटाउनुअघि उनीहरूको वैकल्पिक बसोबास, वृद्धवृद्धा, अशक्त, गर्भवती महिला र साना बालबालिकाको अवस्थाबारे जिम्मेवारीपूर्वक सोच्नुपर्ने आङ्देम्बेको धारणा थियो।

‘एउटा परिवारलाई हटाउनुअघि कम्तीमा त्यो परिवार भोलिदेखि कहाँ बस्छ भन्ने राज्यले सोच्नुपर्दैन? वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाको अवस्थाबारे राज्यले विचार गर्नुपर्दैन? राज्य यति साह्रै संवेदनाहीन बन्न मिल्छ?’ उनले प्रश्न गरे।

सुकुम्बासी व्यवस्थापनको नाममा पहिले बस्तीबाट हटाएर आश्रयस्थलमा राख्ने र पछि त्यहाँबाट पनि रातारात हटाउने कार्य मानवीय र लोककल्याणकारी राज्यको अवधारणाविपरीत भएको उनको आरोप थियो।

आङ्देम्बेले राज्य सबै नागरिकको समान भएको उल्लेख गर्दै आर्थिक र सामाजिक रूपमा कमजोर वर्गमाथि मात्र कठोर व्यवहार गर्नु न्यायोचित नहुने बताए।

‘के यो देश ठूलाबडाको मात्रै हो? कालो चस्मा, कालै कोटऔपाइन्ट लगाएर कालै गाडीमा हुइँकिनेहरूको मात्रै हो? सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब, किसान र मजदुरको चाहिँ यो देश होइन? यदि हो भने किन शक्तिहीन नागरिकमाथि अत्याचार गरिन्छ? के यो लोककल्याणकारी राज्यको चरित्रअनुकूल छ?’ उनले प्रश्न गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *