`

अमेरिका-इरान तनाव : आरोप-प्रत्यारोप, आक्रमण-प्रत्याक्रमण

समिन बरुवाल २५ असार २०८३ १३:३०
फिचर

काठमाडौं। रणनीतिक रूपमा अत्यन्त संवेदनशील मानिने हर्मुज जलघाँटीलाई केन्द्रमा राखेर अमेरिका र इरानबीच दोस्रो दिन पनि सैन्य आक्रमण र प्रतिआक्रमण जारी रहेको छ।

विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गका रूपमा परिचित यस समुद्री क्षेत्रको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षित आवागमन तथा क्षेत्रीय प्रभाव विस्तारको विषयलाई लिएर दुवै मुलुकबीच तनाव थप चर्किएको हो। एकअर्कालाई आरोप-प्रत्यारोप लगाउँदै बिकसित पछिल्ला घटनाक्रमले मध्यपूर्वको सुरक्षा अवस्था अझ जटिल बन्दै गएको विश्लेषण गरिएको छ।

अमेरिकी सेनाले हर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय व्यापारिक तथा ऊर्जा ढुवानी गर्ने जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध पुर्‍याउन सक्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले व्यापक सैन्य कारबाही गरिएको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो चरणमा करिब ९० वटा सैन्य लक्ष्यमाथि हवाई तथा मिसाइल आक्रमण गरिएको छ।

आक्रमण इरानको उत्तरपूर्वी क्षेत्रमा रहेको एउटा रेल पुलदेखि बुसेहरस्थित सैन्य अड्डा, बन्दर अब्बास, कोणार्क, चाबहार र किश टापु आसपासका विभिन्न रणनीतिक स्थानमा केन्द्रित गरिएको बताइएको छ। इरानी सञ्चारमाध्यमहरूले ती क्षेत्रमा शक्तिशाली विस्फोट भएको र केही स्थानमा विद्युत् आपूर्ति समेत प्रभावित भएको जनाएका छन्।

अमेरिकी कारबाहीपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले तत्काल प्रतिआक्रमण गरेको दाबी गरेको छ। आईआरजीसीका अनुसार बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरिएको हो। बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् भने कुवेती अधिकारीहरूले आफ्नो वायु प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोनलाई बीचमै अवरोध गरेको बताएका छन्।

अमेरिकी रक्षा अधिकारीहरूले भने इरानको पछिल्लो आक्रमणबाट अमेरिकी सैनिक वा सैन्य संरचनामा कुनै ठूलो क्षति नभएको दाबी गरेका छन्। उनीहरूका अनुसार आक्रमण प्रयास भए पनि त्यसबाट उल्लेखनीय मानवीय क्षति हुन पाएन।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कायम रहेको युद्धविराम अन्त्य भएको घोषणा गर्दै थप वार्ताका लागि ढोका भने खुला रहेको बताएका छन्। ट्रुथ सोसलमार्फत उनले इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप अमेरिकी सैन्य कारबाही गरिएको दाबी गरेका छन्। उनले ‘यदि यस्ता गतिविधि पुनः दोहोरिए अमेरिकाले अझ कडा र निर्णायक जवाफ दिनेछ’ भन्दै चेतावनीसमेत दिएका छन्। एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानी पक्षबाट सम्पर्क भएको दाबी गरे पनि त्यसबारे विस्तृत जानकारी भने खुलाएका छैनन्।

इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले भने हर्मुज जलघाँटीमाथिको प्रशासनिक अधिकार इरानकै रहने अडान दोहोर्‍याएका छन्। उनले ‘अमेरिकाले धम्की वा सम्झौता उल्लङ्घनको कुनै परिणाम हुँदैन भन्ने भ्रम पाल्नु हुँदैन। इरानमाथि आक्रमण भए त्यसको जवाफ पनि त्यही स्तरमा दिइनेछ’ भन्दै वासिङ्टनलाई चेतावनी दिएका छन्।

यस वर्ष फेब्रुअरीमा अमेरिका-इजरायलको संयुक्त सैन्य कारबाहीपछि सुरु भएको द्वन्द्वयता इरानले हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण अझ कडा बनाउने नीति अवलम्बन गर्दै आएको छ। तेहरानले जलमार्ग प्रयोग गर्ने विदेशी जहाजबाट शुल्क असुल्ने तथा आफूले तोकेको मार्ग उल्लङ्घन गर्ने जहाजमाथि कारबाही गर्ने चेतावनी दिँदै आएको छ। हालै कम्तीमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले सैन्य गतिविधि उल्लेखनीय रूपमा बढाएको हो।

पछिल्ला सैन्य आक्रमणहरू फेब्रुअरी २८ मा युद्धको प्रारम्भिक चरणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिअघि भएका हुन्। दुवै पक्षले प्रारम्भिक चरणमै दर्जनौँ रणनीतिक लक्ष्यमा आक्रमण गरेको दाबी गरेका छन्। इरानी सरकारी टेलिभिजनका अनुसार हालसम्म आठ जना इरानी सैनिकको मृत्यु भएको छ भने सेन्टकमले यसअघि ८० भन्दा बढी लक्ष्यमाथि सफलतापूर्वक आक्रमण गरिएको जनाएको थियो।

क्षेत्रीय तनाव चुलिँदै गएपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन्। अमेरिका–इरानबीच संवाद स्थापना गर्न भूमिका खेलिरहेको पाकिस्तानले पनि सैन्य टकरावभन्दा कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक गरेको छ।

इरानी विदेशमन्त्री अब्बास अराघची र कतारका प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा पनि क्षेत्रीय संकट समाधानका लागि वार्ता र कूटनीतिक माध्यमलाई अघि बढाउनुपर्नेमा सहमति भएको इरानले जनाएको छ।

हर्मुज जलघाँटीको अर्को किनारमा रहेको ओमानले बहराइन, कुवेत तथा व्यापारिक जहाजमाथि भएका आक्रमणको निन्दा गरे पनि कुनै एक पक्षलाई प्रत्यक्ष दोष दिएको छैन। युद्ध सुरु भएदेखि नै तटस्थ भूमिका निर्वाह गर्दै आएको ओमानले जलघाँटीको प्रशासन, समुद्री सुरक्षा तथा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै आएको छ।

गत महिना अमेरिका र इरानबीच शत्रुता कम गर्ने सहमति भएपछि केही समय समुद्री व्यापार सामान्य अवस्थामा फर्किएको थियो। तर पछिल्ला सैन्य घटनाक्रमले पुनः अन्तर्राष्ट्रिय जलमार्ग असुरक्षित बन्दै गएको चिन्ता बढाएको छ।

अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ) का प्रमुख आर्सेनियो डोमिङ्गेजका अनुसार हाल करिब छ हजार नाविक विभिन्न व्यापारिक जहाजमा यही क्षेत्रमा फसेका छन्, जसका कारण अन्तर्राष्ट्रिय समुद्री व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *