चिप उद्योग संकटमा, १ लाख बढी कामदार अभाव हुने चेतावनी
एजेन्सी। हालै सार्वजनिक भएको ब्लूमबर्गको विस्तृत प्रतिवेदनले अमेरिकाको सेमिकन्डक्टर (चिप) उद्योग गम्भीर जनशक्ति संकटतर्फ उन्मुख भइरहेको चेतावनी दिएको छ।
प्रतिवेदनअनुसार अत्याधुनिक चिप उत्पादन गर्ने नयाँ कारखानाहरू निर्माण भइरहेका बेला दक्ष प्राविधिक र इन्जिनियरको अभावले परियोजनाहरू ढिलाइ हुने मात्र होइन, भविष्यको विश्वव्यापी चिप आपूर्तिमा समेत असर पर्ने जोखिम बढेको छ।
उद्योगका प्रमुख कम्पनीहरूले स्रोतसाधन साझा नगरे र सरकारी सहयोग निरन्तर नपाए अमेरिकाको घरेलु चिप उत्पादन क्षमता विस्तार गर्ने महत्वाकांक्षी योजना नै प्रभावित हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। विशेषगरी टेक्सस, एरिजोना, क्यालिफोर्निया, न्युयोर्क र ओहायोमा निर्माण भइरहेका विशाल चिप प्लान्टहरू जनशक्ति अभावको सबैभन्दा ठूलो मारमा पर्ने अनुमान गरिएको छ।
म्याकिन्से एन्ड कम्पनी, उद्योग समूह सेमि र नेशनल साइन्स फाउन्डेशनको संयुक्त अध्ययनअनुसार सन् २०३० सम्म अमेरिकामा सेमिकन्डक्टर उद्योगमा करिब १ लाख ५७ हजार पूर्णकालीन दक्ष कामदारको अभाव हुनेछ। अमेरिकी शिक्षा प्रणाली र तालिम कार्यक्रमले उद्योगको तीव्र मागअनुसार जनशक्ति उत्पादन गर्न नसक्दा यो अन्तर झन् बढ्ने देखिएको छ।
जनशक्ति संकटका कारण विश्वका ठूला चिप उत्पादक कम्पनीहरूको लगानीसमेत जोखिममा परेको छ। ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले एरिजोनामा करिब २६५ अर्ब डलर बराबरको लगानीमा एक दर्जन चिप उत्पादन तथा प्याकेजिङ प्लान्ट निर्माण गरिरहेको छ।
त्यसैगरी माइक्रोन टेक्नोलोजीले न्युयोर्कमा १०० अर्ब डलरको मेमोरी चिप परियोजना अघि बढाएको छ भने सामसङ इलेक्ट्रोनिक्सले टेक्ससमा आफ्नो उत्पादन क्षमता विस्तार गरिरहेको छ। इन्टेलले ओहायोमा निर्माण गरिरहेको २८ अर्ब डलरको परियोजनाले पनि उत्पादन सुरु हुने चरणमा दक्ष जनशक्तिको चरम अभाव सामना गर्नुपर्ने अवस्था देखिएको छ।
अमेरिकाले विगतका दशकमा एसियातर्फ सरेको चिप उत्पादन पुनः स्वदेश फर्काउने (रि–शोरिङ) रणनीति अघि बढाएको छ। तर कामदार अभावसँगै तामा, स्टिल र सिमेन्टजस्ता निर्माण सामग्रीको मूल्य वृद्धिले प्लान्ट निर्माणको लागत पनि उल्लेखनीय रूपमा बढाएको छ।
यी परियोजनालाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आर्थिक तथा औद्योगिक रणनीतिको महत्वपूर्ण हिस्सा मानिएको छ। तर बढ्दो लागत र दक्ष जनशक्ति अभावले सरकारी अनुदानको प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको छ।
प्रतिवेदनले प्रविधि क्षेत्रमा देखिएको अर्को विरोधाभास पनि औँल्याएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा तीव्र लगानी भइरहेका बेला सफ्टवेयर तथा प्रविधिका अन्य क्षेत्रमा ठूलो संख्यामा रोजगारी कटौती भइरहेको छ।
रोजगारी विश्लेषण गर्ने कम्पनी च्यालेन्जर, ग्रे एन्ड क्रिसमसका अनुसार यस वर्ष मात्रै एआईसँग सम्बन्धित करिब १ लाख २ हजार रोजगारी कटौती भएका छन्। तर चिप निर्माणजस्तो जटिल उत्पादन क्षेत्रमा भने दक्ष जनशक्तिको अभाव झन् गहिरिँदै गएको छ।
प्रतिवेदनअनुसार २०३० सम्म रिक्त रहने पदमध्ये ७४ प्रतिशत उत्पादन र ६० प्रतिशत इन्जिनियरिङसँग सम्बन्धित हुनेछन्। हाल गरिएको सर्वेक्षणमा करिब तीन चौथाइ रोजगारदाताले दक्ष इन्जिनियर भर्ना गर्न अत्यन्त कठिन भइरहेको बताएका छन्।
यसको प्रमुख कारण अमेरिकामा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीमध्ये केवल तीन प्रतिशत मात्र चिप उद्योगमा प्रवेश गर्नु हो। अधिकांश प्रतिभाशाली युवाहरू उच्च तलब, आकर्षक सुविधा र तीव्र करियर विकासको अवसरका कारण सफ्टवेयर विकास तथा एआई क्षेत्रमा आकर्षित भइरहेका छन्।
सन् २०२२ मा पारित ‘चिप्स एन्ड साइन्स एक्ट’ अन्तर्गत अमेरिकाले सन् २०२७ सम्म जनशक्ति विकासका लागि नेशनल साइन्स फाउन्डेशनमार्फत २० करोड डलर विनियोजन गरेको छ। यो रकम नेशनल नेटवर्क फर माइक्रोइलेक्ट्रोनिक्स एजुकेशनमार्फत परिचालन भइरहेको छ।
यद्यपि, विज्ञहरूका अनुसार यो रकम पर्याप्त छैन। उनीहरूले विश्वविद्यालयहरूमा सेमिकन्डक्टरसम्बन्धी पाठ्यक्रम विस्तार, उद्योगसँग सहकार्यमा तालिम कार्यक्रम सञ्चालन तथा विद्यार्थीलाई प्रारम्भिक चरणदेखि नै हार्डवेयर र चिप उद्योगतर्फ आकर्षित गर्ने नीति आवश्यक रहेको बताएका छन्।
सेमिकन्डक्टर सामान्यतया सिलिकनजस्ता पदार्थबाट बनाइने विशेष सामग्री हो, जसले निश्चित अवस्थामा विद्युत् प्रवाह गर्छ र निश्चित अवस्थामा रोक्छ। यही गुणका कारण यसमा अर्बौं सूक्ष्म ट्रान्जिस्टर राख्न सकिन्छ, जसले आधुनिक इलेक्ट्रोनिक उपकरणहरूको ‘मस्तिष्क’को काम गर्छ।
स्मार्टफोन, ल्यापटप, विद्युतीय सवारीसाधन, मेडिकल उपकरण, औद्योगिक रोबोटदेखि विशाल डेटा सेन्टरसम्म सबै प्रविधि चिपमा निर्भर छन्। आजको युगमा चिप व्यापारिक वस्तु मात्र नभई राष्ट्रिय सुरक्षा, कृत्रिम बुद्धिमत्ता, क्लाउड कम्प्युटिङ, आधुनिक रक्षा प्रणाली तथा उच्च प्रविधिको आधारस्तम्भका रूपमा स्थापित भएको छ।
यही कारण अमेरिकाले एसियामाथिको निर्भरता घटाएर घरेलु उत्पादन विस्तार गर्न अर्बौं डलर लगानी गरिरहेको छ।
तर दक्ष जनशक्तिको अभाव समाधान गर्न नसके यो महत्वाकांक्षी रणनीति अपेक्षित रूपमा सफल नहुन सक्ने चेतावनी प्रतिवेदनले दिएको छ।
