गणेश नेपाली आत्मदाह : उल्टै स्थानीय सरकार र विपक्षी दोषी
काठमाडौं। मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहको घटनाले राजनीतिक वृत्तदेखि सर्वसाधारणसम्म गम्भीर बहस सिर्जना गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङले संसद्मा सरकारको बचाउ गर्दै स्थानीय सरकारको भूमिकामाथि नै प्रश्न उठाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गरेका उनले घटनालाई लिएर सरकारमाथि भइरहेको आलोचनाको प्रतिवाद गर्दै विपक्षी सांसदहरूलाई नै सरकार सञ्चालनको संरचना बुझ्न आग्रह गरे ।
संसद्मा निकै आक्रामक रूपमा प्रस्तुत भएका गृहमन्त्री गुरुङले नेपालमा संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहेको स्मरण गराउँदै गणेश नेपालीमाथि ह्वील लक लगाउने काम नेपाल प्रहरी वा ट्राफिक प्रहरीले नभई नगर प्रहरीले गरेको दाबी गरे । ‘सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ- संघीय, प्रदेश र स्थानीय । जुन ठाउँमा घटना भयो, त्यहाँ ट्राफिक प्रहरीले होइन, नगर प्रहरीले ह्वील लक लगाएको हो । कुनै पनि भिडियोमा ट्राफिकले ह्वील लक लगाएको देखिएको छ ?’ उनले प्रश्न गरे ।
स्थानीय सरकारले गरेको कामको सम्पूर्ण जिम्मेवारी संघीय सरकारमाथि मात्रै थोपर्न नमिल्ने उनको भनाइ थियो । विपक्षी दलहरूतर्फ संकेत गर्दै उनले दुई तहका सरकार उनीहरूकै नेतृत्वमा रहेको उल्लेख गरे । अहिले कार्यान्वयन भइरहेका धेरै नियम-कानुन विपक्षी दलकै नेतृत्वमा बनेको दाबी गर्दै उनले सरकारले विद्यमान कानुन कार्यान्वयन मात्र गरिरहेको बताए ।
‘दुई तहको सरकार त तपाईंकै छ । अहिले कार्यान्वयन भइरहेको नियम-कानुन पनि तपाईंहरूले नै बनाएको हो । हामी त त्यही कानुन कार्यान्वयन गरिरहेका छौं,’ उनले भने ।
गृहमन्त्री गुरुङले संसद्मा आफूविरुद्ध भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाउँदै आफूले धेरै कुरा सहँदै आएको तर अब सहने सीमा नाघिसकेको बताए । संसद्को गरिमा कायम राख्न सबै सांसद जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले सरकारको आलोचना गर्ने सांसदहरूलाई लक्षित गर्दै प्रश्न गरे, ‘घोक्रो सुक्ने गरी भाषण गर्ने कति जना माननीयहरू हिजो अस्पताल जानुभयो ?’
उनले संसद्मा चर्को स्वरमा बोल्दैमा जनताका समस्या समाधान नहुने जिकिर गर्दै वास्तविक सेवा जनतामाझ पुगेर काम गर्दा मात्र हुने बताए । आफू प्रचार वा स्टन्टबाजीका लागि राजनीतिमा नआएको दोहोर्याउँदै उनले कामबाट परिणाम देखाउने प्रतिबद्धता व्यक्त गरे ।
देश परिवर्तनको उद्देश्य बोकेर राजनीतिमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले विगत पाँच दशकदेखि शासन चलाएका दल र नेताहरूका कमजोरीबाट देशले पाठ सिक्नुपर्ने बेला अझै पनि आरोप-प्रत्यारोप र हिलो छ्यापाछ्यापको राजनीति भइरहेको भन्दै दुःख व्यक्त गरे । उनले संसद्मा मर्यादित बहसको आवश्यकता औंल्याउँदै राजनीतिक दलहरूले जनताका वास्तविक समस्यामा केन्द्रित हुनुपर्ने धारणा राखे ।
‘मलाई राम्रोसँग बोल्न नआउन सक्छ, तर काम गर्न र देश जोगाउन राम्रोसँग आउँछ,’ उनले भने, ‘सरकारले कुनै दल वा पार्टी भनेर विभेद गरेको छैन ।’
गणेश नेपालीको उपचारका विषयमा पनि सरकार गम्भीर रहेको दाबी गर्दै गृहमन्त्री गुरुङले भारतमा उपचारका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको जानकारी दिए । तर बिरामीको अवस्था स्थिर नरहेकाले चिकित्सकहरूको सल्लाहअनुसार तत्काल भारत नलगिएको उनले स्पष्ट पारे ।
गणेश नेपालीको आत्मदाहको घटनापछि संसद्मा सरकारको भूमिका, स्थानीय सरकारको जिम्मेवारी, नगर प्रहरीको कार्यशैली र पीडितलाई उपलब्ध गराइएको उपचारबारे सत्तापक्ष र विपक्षबीच आरोप-प्रत्यारोप तीव्र बनेको छ ।
सोही क्रममा गृहमन्त्री गुरुङले सरकारको बचाउ गर्दै स्थानीय सरकार र विद्यमान कानुनी व्यवस्थामाथि जोड दिएका हुन्।
