`

आङ्देम्बेको प्रश्न : ‘यही हो सुकुमवासीको सुरक्षित व्यवस्थापन?’

Nepal One HD २८ असार २०८३ १३:३३
नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासीको व्यवस्थापनका विषयमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सार्वजनिक रूपमा प्रश्न गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीले सुकुमवासीलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने गरेको प्रतिबद्धता स्मरण गराउँदै अहिलेको अवस्था त्यसको विपरीत रहेको टिप्पणी गरेका हुन्।

आङ्देम्बेले कीर्तिपुरस्थित होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले सुकुमवासीलाई एउटा जोखिमबाट निकालेर अर्को अझ गम्भीर जोखिममा पुर्‍याएको देखिएको बताएका छन्। सुरक्षित आश्रयको आश्वासन पाएका नागरिक अहिले भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच जीवन बिताउन बाध्य भएको उनको भनाइ छ।

उनले यसलाई सुकुमवासीसँग गरिएको सार्वजनिक प्रतिबद्धता पूरा गर्न नसकेको राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनको उदाहरणको रूपमा चित्रण गरेका छन्।

आङ्देम्बेले पीडितहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहितका युवालाई पक्राउ गरिएको घटनाप्रति पनि आपत्ति जनाएका छन्। लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउनु अपराध हुन नसक्ने भन्दै उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाए।

प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै आङ्देम्बेले सुकुमवासीसँग गरिएको वाचा पूरा गर्न र त्यसबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *