आत्मदाह प्रयास गरेका विवेकको अवस्था जटिल
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। हाल उनको आईसीयूमा राखेर सघन उपचार भइरहेको छ।
अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार मण्डलको आइतबार शल्यक्रिया गरिने तयारी गरिएको छ। उनको अवस्था अझै चिन्ताजनक रहेकाले चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
प्राप्त जानकारीअनुसार मण्डलले शुक्रबार घरबाट करिब २०० मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो।
पछिल्लो समय आत्मदाहका घटनाहरू बढिरहेका छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। त्यसैगरी शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाह प्रयास गरेको घटना सार्वजनिक भएको छ।
