दुर्गा प्रसाईं बोल्ने डरले प्रहरीले पक्राउ गर्यो, अनि घरमा छाडिदियो[भिडियाे]
काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनी गृहजिल्ला झापाबाट काठमाडौं आएका थिए।
काठमाडौं आइपुग्नुअघि प्रसाईंले पत्रकार सम्मेलन गर्ने सूचना सार्वजनिक गरेका थिए। तर विमानस्थलमा अवतरण गरेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर पत्रकारहरूसँग भेट्न नदिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रसाईंलाई विमानस्थलबाट नियन्त्रणमा लिएपछि सुरक्षाको प्रबन्ध मिलाउँदै निवाससम्म पुर्याइएको हो। उनले निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति वा पत्रकार सम्मेलन गर्न नपाइने भएकाले त्यहाँ पत्रकारहरूसँग भेटघाट गर्न नदिइएको बताए।
प्रहरीले यो कदम सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर चालिएको जनाएको छ। यद्यपि पछिल्ला राजनीतिक तथा सामाजिक घटनाक्रमलाई लिएर सरकारमाथि विभिन्न कोणबाट आलोचना भइरहेका बेला प्रसाईंले सार्वजनिक रूपमा उत्तेजक अभिव्यक्ति दिन सक्ने सम्भावनालाई ध्यानमा राखेर प्रहरीले अग्रिम सतर्कता अपनाएको प्रहरीले जनाएको छ।
प्रसाईंलाई पक्राउ गरिएको नभई आवश्यक सुरक्षा व्यवस्थापनका लागि केही समय नियन्त्रणमा लिएर घरसम्म पुर्याइएको प्रहरीको भनाई छ।
