किर्तिपुर होल्डिङ सेन्टरका ३१ परिवारका ८९ जना खरीपाटीमा
काठमाडौं । अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट सुकुमवासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढीका कारण होल्डिङ सेन्टर नै प्रभावित भएपछि सरकारले उनीहरूलाई भक्तपुरस्थित खरिपाटी होल्डिङ सेन्टरमा सार्ने व्यवस्था गरेको हो।
सरकारी विवरणअनुसार कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ जनालाई शनिबार र आइतबार बिहान गरी चरणबद्ध रूपमा खरिपाटी लगिएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने उद्देश्यले स्थानान्तरण गरिएको जनाइएको छ।
खरिपाटीमा स्थान अभाव भएका केही परिवारलाई भने भक्तपुरकै बोडे क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। सम्बन्धित निकायले उनीहरूको बसोबास, खाद्यान्न तथा आधारभूत आवश्यकताका विषयमा आवश्यक व्यवस्थापन भइरहेको जनाएको छ।
यसअघि सरकारले बागमती नदी किनारका थापाथलीलगायत विभिन्न क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाएर उनीहरूलाई अस्थायी रूपमा कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा राखेको थियो। तर लगातारको वर्षापछि उक्त होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बस्दै आएका परिवार थप जोखिममा परेका थिए।
होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमवासीहरूको व्यवस्थापनलाई लिएर सरकारको आलोचना समेत भइरहेको छ। विभिन्न राजनीतिक दल, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले सुरक्षित र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका छन्।
हाल प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिए पनि उनीहरूको स्थायी पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनको विषय भने अझै टुंगो लाग्न सकेको छैन। सरकारले अस्थायी व्यवस्थापनसँगै दीर्घकालीन समाधानका लागि आवश्यक तयारी भइरहेको जनाएको छ।
