`

अनेसासको अध्यक्षमा लालगोपाल सुवेदी निर्वाचित

Nepal One HD २८ असार २०८३ १५:३७
समाचार

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्षमा अमेरिका निवासी लालगोपाल सुवेदी निर्वाचित भएका छन्।

जुलाई ७ देखि ९ सम्म सम्पन्न अनलाइन निर्वाचनमा उनले ९३३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी क्यानडा निवासी सुरेन उप्रेतीले ५५४ मत प्राप्त गरे।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा अमेरिका, कोलोराडो निवासी तारा अधिकारी निर्वाचित भएकी छन्। उनले ७८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुदीपभद्र खनालले ७०० मत पाए। ८४ मतको अन्तरले अधिकारी विजयी भएकी हुन्।

अमेरिका क्षेत्रीय उपाध्यक्षमा शकुन ज्ञवाली ९०३ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी गीता बजगाईंले ४५३ मत प्राप्त गर्दा अग्नि पराजुलीले ७२ मत पाए।

महासचिवमा राजु सिटौला १ हजार २०२ मतसहित विजयी भए। उनले यसपटक पदाधिकारीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी सहदेव कोइरालाले २७१ मत पाए।

यसअघि नै सचिवमा नेपालका ऋषभदेव अधिकारी तथा कोषाध्यक्षमा अमेरिका निवासी पुष्पा खनाल निर्विरोध निर्वाचित भइसकेका थिए।

क्षेत्रीय उपाध्यक्षतर्फ एसियामा दिनेशराज ज्ञवाली, युरोपमा राज श्रेष्ठ र ओसेनियामा डा. प्रकाश पौडेल निर्विरोध निर्वाचित भएका छन्। अफ्रिका क्षेत्रीय उपाध्यक्ष पदमा भने उम्मेदवारी नपरेकाले पद रिक्त रहेको छ।

केन्द्रीय सदस्यका पाँच पदमा मीरा कोइराला, महेश्वर पन्त, राजेन्द्र केसी, हरिमाया अधिकारी र डा. पारसमणि दंगाल निर्वाचित भएका छन्। मीरा कोइरालाले १ हजार २०३ मत प्राप्त गर्दै सम्पूर्ण उम्मेदवारमध्ये सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरिन्।

केन्द्रीय सदस्यमा महेश्वर पन्तले १ हजार ८९, राजेन्द्र केसीले १ हजार ७, हरिमाया अधिकारीले ९४४ र डा. पारसमणि दंगालले ९३० मत प्राप्त गरे। सदस्य पदका प्रतिस्पर्धी डा. कृष्ण शाह ‘यात्री’, नीलकण्ठ सुवेदी र पिपलमणि सिग्देल भने पराजित भए।

निर्वाचन समितिका अनुसार तीन दिनसम्म सञ्चालन भएको अनलाइन मतदानमा झण्डै १ हजार ५०० सदस्य सहभागी भएका थिए। अनेसासका विश्वभर तीन हजारभन्दा बढी आजीवन सदस्य रहेकामा कुल मतदातामध्ये ४८.४२ प्रतिशतले मतदान गरेका थिए।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल सन् २०२६ देखि २०२८ सम्म रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *