गणेश नेपाली घटनापछि सडकबाट गायब नगर प्रहरी, अस्तव्यस्त बन्न थाल्यो न्युरोड
काठमाडौं । केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी न्युरोडसहित राजधानीका विभिन्न व्यस्त क्षेत्रमा नियमित रूपमा खटिएर फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेका थिए। महानगरले पैदलयात्रीका लागि फुटपाथ खाली राख्ने नीति अपनाउँदै दिउँसोको समयमा फुटपाथमा व्यापार गर्न कडाइ गरेको थियो भने व्यापारका लागि निश्चित समयसमेत तोकेको थियो।
तर आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि नगर प्रहरीको सडक उपस्थितिमा उल्लेख्य कमी आएको देखिएको छ। पछिल्ला केही दिनयता न्युरोड, असन, इन्द्रचोकलगायतका मुख्य व्यापारिक क्षेत्रमा नगर प्रहरीको सक्रियता पहिलेको तुलनामा घटेको स्थानीय व्यवसायी तथा सर्वसाधारणले बताएका छन्।
महानगरका एक नगर प्रहरी कर्मचारीका अनुसार उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण हुन सक्ने वा सुरक्षा जोखिम बढ्न सक्ने आकलनका कारण केही समयका लागि नियमित सडक ड्युटी सीमित गरिएको हो। यद्यपि, यसबारे काठमाडौं महानगरपालिकाले औपचारिक धारणा सार्वजनिक गरेको छैन।
नगर प्रहरीको उपस्थिति घटेसँगै न्युरोडलगायतका क्षेत्रमा फुटपाथमा पुनः व्यापार बढ्न थालेको देखिएको छ। पैदलयात्रीका लागि छुट्याइएका स्थानमा अस्थायी पसल राखिने क्रम बढेपछि हिँड्न कठिन भएको सर्वसाधारणको गुनासो छ। फुटपाथ अवरुद्ध भएपछि धेरै पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन्।
यस्तै, अव्यवस्थित पार्किङको समस्या पनि फेरि बढ्न थालेको स्थानीयले बताएका छन्। सडक किनारमा जथाभावी सवारी पार्किङ गरिनुका साथै फुटपाथमा व्यापार बढ्दा सवारी आवागमनसमेत प्रभावित भएको देखिएको छ। यसका कारण न्युरोडलगायतका व्यस्त क्षेत्रमा ट्राफिक जामको समस्या पनि बढ्दै गएको स्थानीयको भनाइ छ।
काठमाडौं महानगरपालिकाले केही महिनाअघि सुरु गरेको फुटपाथ व्यवस्थापन अभियानलाई प्रभावकारी मानिएको थियो। तर पछिल्लो घटनाक्रमपछि नगर प्रहरीको सक्रियता घटेको देखिएसँगै अभियानको निरन्तरतामाथि प्रश्न उठ्न थालेको छ। सर्वसाधारणले पैदलयात्रीको अधिकार सुनिश्चित गर्न र सडक व्यवस्थापनलाई पुनः प्रभावकारी बनाउन महानगरले आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।


















