`

ट्रम्प-इरान पुन: आमनेसामने

Nepal One HD ३० असार २०८३ ११:३०
फिचर

काठमाडौं। विश्वको सबैभन्दा महत्वपूर्ण समुद्री तेल ढुवानी मार्गमध्ये एक मानिने हर्मुज जलघाँटीलाई केन्द्रमा राखेर अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य संरचना र नेतृत्वमाथि कडा टिप्पणी गर्दै अमेरिका अब हर्मुज जलघाँटीको सुरक्षामा प्रत्यक्ष भूमिका खेल्ने घोषणा गरेपछि दुई देशबीचको कूटनीतिक र सैन्य टकराव थप चर्किएको हो।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानको सैन्य संरचनामा गम्भीर क्षति पुगेको दाबी गरेका छन्। उनका अनुसार इरानको नौसैनिक क्षमता, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली तथा शीर्ष सैन्य कमान्ड संरचना ‘लगभग निष्क्रिय’ भइसकेको छ।

ट्रम्पले केही उच्च इरानी सैन्य कमान्डर मारिएको दाबी गर्दै सर्वोच्च नेता अयातुल्ला अली खमेनीका छोरा मोजताबा खमेनी ‘९० प्रतिशत निष्क्रिय’ अवस्थामा रहेको टिप्पणी गरेका छन्। उनले मोजताबा अघिल्लो हवाई आक्रमणमा गम्भीर घाइते भएको र त्यसयता सार्वजनिक कार्यक्रममा नदेखिनु त्यसैको परिणाम भएको बताएका छन्।

यसअघि पनि ट्रम्पले सर्वोच्च नेता अली खमेनी फेब्रुअरी अन्त्यतिर भएको अमेरिका–इजरायल संयुक्त हवाई आक्रमणमा मारिएको दाबी गरेका थिए। उनले यसपटक पनि त्यही दाबी दोहोर्‍याएका छन्। तर, यी दाबीहरूलाई पुष्टि गर्ने स्वतन्त्र प्रमाण सार्वजनिक भएका छैनन् भने इरानले पनि यस्ता सबै दाबी अस्वीकार गर्दै आएको छ।

सैन्य दाबीसँगै ट्रम्पले हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकाले नयाँ नीति लागू गर्ने घोषणा गरेका छन्। उनले अमेरिका अब ‘हर्मुज जलघाँटीको संरक्षक’ का रूपमा रहने, इरानसँग सम्बन्धित जहाजहरूको गतिविधिमाथि कडा निगरानी गर्ने तथा जलमार्ग प्रयोग गर्ने अन्तर्राष्ट्रिय व्यापारिक जहाजबाट २० प्रतिशतसम्म प्रतिपूर्ति शुल्क उठाउने प्रस्ताव अघि सारेका छन्।

ट्रम्पका अनुसार विश्व अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण समुद्री मार्गको सुरक्षा खर्च अमेरिका एक्लैले व्यहोर्नु उपयुक्त नहुने भएकाले अन्तर्राष्ट्रिय व्यापारिक साझेदारहरूले पनि त्यसको आर्थिक जिम्मेवारी लिनुपर्छ। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत पनि हर्मुज जलघाँटीमा अमेरिकी उपस्थितिलाई अझ प्रभावकारी बनाइने संकेत दिएका छन्।

उता, इरानले भने अमेरिकी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटीको सुरक्षा गर्ने ऐतिहासिक, भौगोलिक र कानुनी जिम्मेवारी इरानकै रहेको बताएका छन्। उनले अमेरिकी शुल्क प्रस्तावलाई अव्यावहारिक र अन्तर्राष्ट्रिय व्यापारका लागि प्रतिकूल भन्दै इरानले आफ्नो समुद्री दायित्व निष्पक्ष रूपमा निर्वाह गरिरहने बताएका छन्।

पछिल्ला दिनमा अमेरिका र इरानबीच पुनः मिसाइल आक्रमण आदानप्रदान भएपछि मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। हर्मुज जलघाँटी हुँदै विश्वको ठूलो हिस्सा कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यहाँको अस्थिरताले विश्व ऊर्जा बजार, समुद्री व्यापार र कच्चा तेलको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ।

विशेषज्ञहरूका अनुसार हर्मुज जलघाँटीमा कुनै पनि प्रकारको सैन्य तनाव वा आवागमनमा अवरोध उत्पन्न भए विश्वभर इन्धन आपूर्तिमा समस्या आउन सक्ने, तेलको मूल्य तीव्र रूपमा बढ्न सक्ने र विश्व अर्थतन्त्रमा नयाँ दबाब सिर्जना हुन सक्ने जोखिम रहन्छ।

अमेरिका र इरान दुवैले हर्मुज जलघाँटीको सुरक्षा र नियन्त्रणबारे आ–आफ्ना दाबीलाई अझ आक्रामक रूपमा अघि सारेका छन्।

कूटनीतिक संवादभन्दा सैन्य चेतावनी र आरोप–प्रत्यारोप बढ्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषकहरूको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *