`

कलाकारले नै ‘गौतम बुद्ध बिहारका हुन्’ भनेपछि

Nepal One HD २ साउन २०८३ १३:०१
चलचित्र

काठमाडौं। भारतीय कमेडियन समय रैना फेरि एकपटक आफ्नो अभिव्यक्तिका कारण विवादमा परेका छन्। यसपटक उनको नेटफ्लिक्समा प्रदर्शन भइरहेको ‘इन्डिया गट लेटेन्ट २’ को तेस्रो एपिसोडमा गौतम बुद्धबारे दिएको टिप्पणीलाई लिएर नेपाली दर्शकले तीव्र आलोचना गरेका छन्।

शुक्रबार प्रसारित एपिसोडमा एक महिला प्रतियोगीसँगको संवादका क्रममा रैनाले ‘गौतम बुद्ध पनि बिहारबाट थिए’ भन्ने अभिव्यक्ति दिएका हुन्।

कार्यक्रममा ती प्रतियोगीले आफूलाई पुरुष मन नपर्ने भन्दै बिहारका पुरुषप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेकी थिइन्। त्यसको जवाफमा रैनाले बिहारीहरू बुद्धिमानी हुने र उनीहरूले ‘यूपीएससी’ जस्तो कठिन परीक्षा उत्तीर्ण गर्ने भन्दै उनीहरूको बचाउ गरेका थिए। सोही प्रसङ्गमा उनले प्रतियोगीलाई लक्षित गर्दै ‘तिमीलाई थाहा छ, गौतम बुद्ध पनि बिहारबाट थिए’ भनेका थिए।

उनको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा नेपाली प्रयोगकर्ताले विरोध जनाएका छन्। धेरैले गौतम बुद्धको जन्मस्थल नेपालस्थित लुम्बिनी रहेको ऐतिहासिक तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकारिएको तथ्यलाई बेवास्ता गर्दै गलत अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

यसअघि पनि समय रैनाको ‘इन्डिया गट लेटेन्ट’ अश्लील र विवादास्पद सामग्रीका कारण व्यापक आलोचनामा परेको थियो। ती विवादपछि कार्यक्रम केही समय रोकिएको थियो भने हाल यसको दोस्रो सिजन नेटफ्लिक्समार्फत प्रदर्शन भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *