फुटेको हो कांग्रेस?
काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको संकेत देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापासँग पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकाल्दै अब नयाँ राजनीतिक रणनीतितर्फ अघि बढ्ने संकेत दिएको छ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षको नेतृत्व गरिरहेका नेता पूर्णबहादुर खड्काको अध्यक्षतामा देउवा समूहका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकमा बिपी स्मृति दिवसको तयारी, पार्टी एकताका लागि गठन गरिएको समितिको अवस्था, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा विस्तृत छलफल भएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालिएको बताए। उनका अनुसार साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय भएको छ, जहाँ आगामी राजनीतिक दिशा तय गरिनेछ।
गगन थापा नेतृत्वको संस्थापन पक्षसँग सहमति हुने सम्भावना अब नरहेको भन्दै विश्वकर्माले भने, ‘मिल्ने लक्षण अब ९९ प्रतिशत देखिन्न।’ उनले एकताका लागि आफूहरूले निरन्तर प्रयास गरे पनि संस्थापन पक्षबाट वार्तालाई गम्भीर रूपमा नलिइएको आरोप लगाए।
विश्वकर्माले संस्थापन पक्षलाई नै पार्टी एकता गर्न इच्छा नभएको हुन सक्ने दाबी गरे। अब नयाँ राजनीतिक बाटो रोज्ने तयारी भइरहेको उल्लेख गर्दै उनले नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, संगठनात्मक संरचना, विधान तथा पार्टी सञ्चालनको विधिबारे क्रमशः छलफल गरिने बताए।
नयाँ पार्टी गठनको सम्भावना र त्यसको नेतृत्वबारे सोधिएको प्रश्नमा उनले सबै विषय प्याकेजमै टुंगो लाग्ने प्रतिक्रिया दिए। विश्वकर्माले पार्टीको सम्भावित नाम, चुनाव चिन्ह, कानुनी प्रक्रिया र संगठनात्मक संरचनाबारे पनि आगामी दिनमा विस्तृत छलफल हुने जानकारी दिए। उनका अनुसार राष्ट्रिय भेलापछि नयाँ राजनीतिक विकल्पबारे थप स्पष्ट निर्णय सार्वजनिक गरिनेछ।
देउवा समूहको यो निष्कर्षले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब नयाँ मोडमा पुग्न सक्ने संकेत गरेको छ। यदि दुवै पक्षबीच अन्तिम समयसम्म पनि सहमति हुन सकेन भने कांग्रेसमा औपचारिक विभाजन वा नयाँ राजनीतिक शक्ति निर्माणको प्रक्रिया अघि बढ्न सक्ने आकलन गरिएको छ।
