राइड सेयरिङमा नयाँ कर व्यवस्था, अब प्रत्येक १०० रुपैयाँ राइडमा ६ रुपैयाँ सरकारलाई
काठमाडौं। सरकारले राइड सेयरिङ सेवामा नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार प्रत्येक राइडबाट प्राप्त हुने आम्दानीमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत कारोबार कर (टीडीएस) गरी कुल ६ प्रतिशत कर लाग्ने भएको हो।
नयाँ व्यवस्थासँगै राइड सेयरिङ कम्पनीहरूले आफ्ना राइडर तथा क्याप्टेनलाई सूचना जारी गर्दै उक्त कर रकम ‘तिर्न बाँकी रकम’ का रूपमा देखिने र अनिवार्य रूपमा बुझाउनुपर्ने जानकारी दिएका छन्।
हाल नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूले एपमार्फत सेवा उपलब्ध गराएबापत छुट्टाछुट्टै कमिसन लिँदै आएका छन्। पठाओले अधिकतम २० प्रतिशत, इन्ड्राइभले १० प्रतिशत र याङ्गोले करिब ३ प्रतिशतसम्म सेवा शुल्क (कमिसन) लिने गरेका छन्।
सरकारले लागू गरेको नयाँ ६ प्रतिशत करसँगै अब राइडरहरूले कमिसन र करबापत मात्रै २६ प्रतिशतसम्म रकम तिर्नुपर्ने अवस्था आएको छ। यसबाहेक इन्धन, सवारीसाधनको मर्मत, मोबाइल डाटा, भ्वाइस सेवा तथा अन्य सञ्चालन खर्च भने राइडरले आफैं बेहोर्नुपर्ने हुन्छ।
नयाँ कर व्यवस्थाले राइडरहरूको आम्दानीमा असर पर्ने भन्दै यसबारे विभिन्न राइड सेयरिङ समूहले चासो व्यक्त गर्न थालेका छन्।:::
