९ राजमार्गमा यातायात अवरुद्ध, कुन-कुन ?
काठमाडौं। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार हाल देशभरका कम्तीमा ९ वटा प्रमुख राजमार्गमा पूर्ण वा आंशिक रूपमा सवारी आवागमन अवरुद्ध भएको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीको प्रभाव परेपछि सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ। इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा पनि पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ। काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथमा पनि बाढी र पहिरोको जोखिम उच्च रहेकाले अर्को सूचना जारी नभएसम्म यातायात बन्द गरिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारी क्षेत्रमा अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डा क्षेत्रमा रहेको पासाङल्हामु सडकखण्डमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
यता, चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन भए पनि जवाङखोला क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
निरन्तर वर्षा भइरहेकाले थप पहिरो र बाढीको जोखिम कायम रहेको भन्दै नेपाल प्रहरीले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
