भरतपुर कारागारमा छैन कैदीबन्दी राख्ने क्षमता
चितवन। जिल्ला कारागार भरतपुरमा कैदीबन्दीको चाप बढ्दै गएपछि क्षमताभन्दा बढी रहेका कैदीलाई अन्य जिल्लाका कारागारमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ। पछिल्लो एक वर्षमा मात्रै ११६ जना कैदीलाई विभिन्न कारागारमा सारिएको छ।
कारागार प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार कारागारको क्षमता ५०५ जनाको भए पनि हाल ७१७ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा बसोबास व्यवस्थापन, सरसफाइ तथा दैनिक सञ्चालनमा चुनौती थपिएको उनले बताए।
एक वर्षको अवधिमा भरतपुर कारागारबाट सबैभन्दा धेरै ५३ जना भीमफेदी कारागार पठाइएको छ। त्यसैगरी २६ जना नुवाकोट, १७ जना कपिलवस्तु, सात जना कास्की, छ जना जगन्नाथ देवल, चार जना स्याङ्जा तथा नख्खु, ललितपुर र नेपालगञ्ज कारागारमा एक-एक जना स्थानान्तरण गरिएको छ।
हाल कारागारमा ६७७ पुरुष र ४० महिला गरी कुल ७१७ जना कैदीबन्दी रहेका छन्। जबकि कारागारको स्वीकृत क्षमता ४७५ पुरुष र ३० महिला गरी जम्मा ५०५ जनाको मात्रै छ।
कारागार प्रशासनका अनुसार कैदीबन्दीको संख्या निरन्तर बढ्दै जाँदा व्यवस्थापनमा दबाब परेको छ।
