`

कीर्तिपुरमा कारभित्र मृत फेला परेका व्यक्तिबारे के भन्छ प्रहरी ?

Nepal One HD ६ साउन २०८३ ११:५७
बिशेष

काठमाडौं। कीर्तिपुरमा कारभित्र मृत अवस्थामा फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गर्दै घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरले गरेको अनुसन्धानका आधारमा घटनास्थल, सीसीटीभी फुटेज तथा अन्य प्रमाणहरूको विश्लेषणपछि प्रहरीले हालसम्म प्राप्त तथ्यले बाह्य संलग्नताको संकेत नदेखिएको जनाएको हो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिनउड भिल्लामा बस्दै आएका थिए। मंगलबार बिहान उनी आफ्नै कार लिएर कीर्तिपुरको ट्याङ्गलाफाँट क्षेत्रमा पुगेका थिए। घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने प्रहरी र उद्धार टोली घटनास्थल पुगेर अवस्था नियन्त्रणमा लिएको थियो।

काठमाडौंका एसएसपी दिलीप घिमिरेले हालसम्मको अनुसन्धानबाट घटनामा अन्य व्यक्तिको संलग्नता देखिने प्रमाण फेला नपरेको बताएका छन्। घटनासम्बन्धी थप कानुनी र प्राविधिक अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठ औषधि व्यवसायसँग आबद्ध थिए। पछिल्ला वर्षहरूमा व्यवसायमा आर्थिक समस्या आएपछि उनी तनावमा रहेको भन्ने जानकारी परिवारबाट प्राप्त भएको छ। यद्यपि घटनाको सबै पक्ष पुष्टि गर्न पोस्टमार्टम रिपोर्ट तथा अन्य प्राविधिक परीक्षणको प्रतिवेदन पर्खिएको प्रहरीले जनाएको छ।

शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ भने घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *