गगनले पनि पार्टी सुधार्न सकेनन् : प्राध्यापक कृष्ण खनाल
काठमाडौं । प्राध्यापक कृष्ण खनालले गगन थापाको नेतृत्वमा पनि कांग्रेस नसुध्रिएको बताएका छन् । निर्वाचनअघि आफूले कांग्रेसलाई नसुधारिए स्थिति खराब हुने भनेको तर देखिनेगरी सुधार नभएको बताए ।
‘म त गाउँगाउँ झोला बोकेर हिँड्दा कांग्रेसले जनमत गुमाउने पाएँ र त्यो कुरा चुनावअघि गगनजीलाई भनेको थिएँ, उहाँले पनि स्वीकार्नुभयो,’ उनले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘तर, पार्टी सुधार्न देख्नेगरी प्रयत्न उहाँबाट पनि भएन ।’
उनले कांग्रेसको मत भण्डार क्रमशः घट्दै गएको बताए । जनतासँग पार्टीलाई नजोडिए चुनावमा नेताहरू भित्र्याएर मात्रै पार्टीको मत भण्डार नबढ्ने दाबी गरे ।
‘२०१५ यताको हरेक निर्वाचनको परिणाम हेर्दा कांग्रेसको मत भण्डार घट्दै गएको छ । जनतासँग जति कांग्रेसलाई जोडिन्छ, त्यति मत भण्डार बढ्छ । चुनावमा टाउको जोडेर नतिजा हुँदैन,’ उनले भने ।
उनले कांग्रेसमा प्रतिस्पर्धाको वातावरण बनाउन सभापति गगन थापालाई आग्रह गरे ।
