`

जनताको पीडा बुझ्न सीमा क्षेत्रमा पुगेँ गृहमन्त्री गुरुङ

Nepal One HD ८ साउन २०८३ १८:२४
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सिमावर्ती नाकाहरूमा नियमित रूपमा छड्के अनुगमन गर्दै आएको बताएका छन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सुरक्षा निकायलाई पूर्वजानकारी नदिई गरिने अनुगमनबाट सीमा क्षेत्रको वास्तविक अवस्था बुझ्न सहज हुने र सम्बन्धित निकाय थप जिम्मेवार तथा चनाखो बन्ने बताए।

‘सिमावर्ती नाकामा पूर्वजानकारी नदिई अनुगमन गर्दा त्यहाँको वास्तविक अवस्था थाहा हुन्छ। यसले सुरक्षा निकायलाई अझ जिम्मेवार बनाउँछ,’ गृहमन्त्री गुरुङले भने।

उनका अनुसार अनुगमनका क्रममा मन्त्रालयका निर्देशन कार्यान्वयन भए–नभएको मूल्यांकन गर्नुका साथै तस्करी, लागुऔषध ओसारपसार, अवैध गतिविधि तथा स्थानीय नागरिकले भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी लिने गरिएको छ।

गृहमन्त्री गुरुङले सीमा क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका सुझाव संकलन गर्ने र त्यसका आधारमा मन्त्रालयमा आवश्यक समीक्षा तथा सुधारका काम अघि बढाइने बताए।

उनले सीमा नाकाबाट हुने तस्करी, लागुऔषध ओसारपसार र अन्य सुरक्षा चुनौतीको दीर्घकालीन समाधानका लागि स्थलगत वस्तुस्थिति बुझ्नु अपरिहार्य रहेको उल्लेख गर्दै त्यसअनुसार आवश्यक नीतिगत तथा कार्यान्वयनगत सुधार भइरहेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *