गृहमन्त्रीको राजीनामा माग
काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्ज घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न भएको तनावका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि बास्कोटाले गृहमन्त्रीको नैतिक जिम्मेवारीबारे प्रश्न उठाएका हुन्।
उक्त घटनामा प्रहरीसहित २१ जना घाइते भएका छन्। कर्फ्यु जारी रहेकै बेला आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना पनि ब्यारेकबाट परिचालन गरिएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले गृहमन्त्रीलाई लक्षित गर्दै संसद्को रोष्ट्रममा भावुक बन्नुभन्दा घटनाको जिम्मेवारी लिनुपर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘सभाहलमा केही आँसु झार्दै भक्कानिन्छन्। पानी पिउँदै भन्छन्- हाम्रा भाइबहिनीमाथि गोली चलेकोमा आफूलाई कति पीडा भइरहेको छ। बाहिर केही रफ्फु मिडिया गिड्गिडाउँदै भन्छन्– दोष तिनै मान्छेको थियो, जसले गोली खाए। जवाफदेहिता छ भने राजीनामा देऊ।’
