`

रश्मी रिजाल मृत्यु प्रकरण : आखिर भएको के हो?

Nepal One HD १२ साउन २०८३ १४:५४
समाचार

काठमाडौं। सानीमा क्यापिटल्सकी मर्चेन्ट हेड ४५ वर्षीया रश्मी रिजालको मृत्यु प्रकरणले यतिबेला व्यापक चासो र बहस निम्त्याएको छ।

गत शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी रिजाल शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–१ बालेबासेस्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक आफ्नै विद्युतीय कारभित्र मृत अवस्थामा फेला परेपछि घटनालाई सुरुमा रहस्यमय मानिएको थियो।

गाडीभित्र जलेको अवस्थामा शव भेटिए पनि कारमा ठूलो क्षति नदेखिनु र शरीर पनि पूर्ण रूपमा नजलेको अवस्थामा भेटिएपछि हत्या, आत्महत्या वा अन्य कुनै कारणबारे विभिन्न अड्कलबाजी सुरु भएका थिए।

प्रहरीका अनुसार रिजाल शुक्रबार घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएको थियो। खोजीका क्रममा तारकेश्वरस्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक शंकास्पद रूपमा पार्किङ गरिएको उनको विद्युतीय कार फेला परेको थियो।

गाडीमा कालो सिसा भएकाले बाहिरबाट केही देख्न सकिने अवस्था थिएन। ढोका खोलेपछि पछाडिको सिटमा रश्मी मृत अवस्थामा भेटिएकी थिइन् भने चाबी अगाडिको भागमै रहेको थियो। त्यसपछि प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो।

घटनास्थलको अवस्थाले धेरै प्रश्न उठाएको थियो। गाडी पूर्ण रूपमा जलेको थिएन, पछाडिको सिटमा शव भए पनि सिट र गाडीको भित्री भागमा अपेक्षाकृत कम क्षति थियो। शरीरमा पनि सीमित मात्र जलन देखिएकाले घटनाको वास्तविक कारणबारे विभिन्न अनुमान सार्वजनिक भएका थिए।

तर, घटनास्थल आसपासका सीसीटीभी फुटेज विश्लेषण गरेपछि अनुसन्धानले नयाँ मोड लिएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार फुटेजमा रश्मी आफैं कार चलाएर घटनास्थल पुगेको, चालक सिटबाट पछाडिको सिटमा सरेको र त्यसपछि गाडीका सबै ढोका तथा सिसा बन्द गरेको देखिन्छ। त्यसपछि गाडीभित्र केही समय बिताएको दृश्य पनि फुटेजमा कैद भएको प्रहरीको भनाइ छ।

प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार उनले आफूमाथि पेट्रोल छर्किएर आगो लगाएको देखिएको छ। गाडीका सबै झ्याल बन्द भएकाले आगोले पर्याप्त अक्सिजन नपाउँदा ठूलो आगलागी हुन नसकेको र त्यसैले गाडी तथा शरीरमा सीमित मात्र क्षति पुगेको अनुमान गरिएको छ। प्रारम्भिक रूपमा जलन र अक्सिजनको अभाव दुवै कारणले मृत्यु भएको हुन सक्ने प्रहरीको आकलन छ।

यद्यपि प्रहरीले यसलाई अन्तिम निष्कर्ष भने मानेको छैन। पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण, रासायनिक विश्लेषण तथा डिजिटल प्रमाणको अध्ययनपछि मात्र मृत्युको वास्तविक कारण औपचारिक रूपमा पुष्टि हुने जनाएको छ। घटनास्थलबाट संकलित सामग्री, गाडीको प्राविधिक परीक्षण तथा मृतकले प्रयोग गरेका डिजिटल उपकरण पनि अनुसन्धानको दायरामा रहेका छन्।

घटनापछि परिवारले प्रहरीमा ज्यान सम्बन्धी कसुरअन्तर्गत जाहेरी दर्ता गराउँदै निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेको छ। परिवारले अन्तिम प्रतिवेदन नआएसम्म सबै सम्भावित पक्षको अनुसन्धान गर्नुपर्ने अडान राखेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले घटनाका सबै पक्षलाई समेटेर अनुसन्धान भइरहेको र अहिले नै कुनै पनि सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताएका छन्।

रश्मी रिजालको मृत्यु प्रकरणले बन्द गाडीभित्र भएको आगलागी, फरेन्सिक अनुसन्धान, डिजिटल प्रमाण र सीसीटीभी फुटेजको महत्वबारे पुनः बहस सुरु गराएको छ।

प्रहरीले उपलब्ध सबै वैज्ञानिक प्रमाणको विश्लेषणपछि मात्र घटनाबारे अन्तिम निष्कर्ष सार्वजनिक गर्ने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *