`

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

Nepal One HD १३ साउन २०८३ १२:०१
बिशेष

काठमाडौं। नेपालमा पाटेबाघको सङ्ख्या उल्लेखनीय रूपमा बढेर ४२९ पुगेको छ। विश्व बाघ दिवसका अवसरमा बुधबार कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय बाघ गणनाअनुसार पछिल्लो चार वर्षमा ७४ वटा बाघ थपिएका छन्।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सार्वजनिक गरेको २०८२ सालको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै १४५ वटा बाघ रहेका छन्। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन्।

मन्त्रालयका अनुसार बाघको बासस्थानमा सुधार, संरक्षणका प्रभावकारी कार्यक्रम, चोरी–सिकार नियन्त्रण तथा सिकार प्रजातिको सङ्ख्या बढेकाले बाघको सङ्ख्या वृद्धि भएको हो। नेपालमा हरेक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ।

यसअघि सन् २०२२ मा गरिएको गणनामा देशभर ३५५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। त्यतिबेला चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ थिए।

नेपालमा बाघ संरक्षणको यात्रा उल्लेखनीय रूपमा अघि बढेको छ। सन् २०१० मा देशभर १२१ वटा मात्र बाघ रहेका थिए। त्यसपछि सन् २०१४ मा १९८, सन् २०१८ मा २३५, सन् २०२२ मा ३५५ र अहिले २०८२ को गणनाअनुसार ४२९ वटा बाघ पुगेका छन्।

हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ शिखर सम्मेलनपछि विश्वभर बाघ संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

वन तथा पर्यावरणविद्हरूका अनुसार बाघ स्वस्थ पारिस्थितिकीय प्रणालीको प्रमुख सूचक प्रजाति हो। बाघको सङ्ख्या बढ्नु वन संरक्षण, जैविक विविधता र प्राकृतिक बासस्थानको अवस्था सुधारिएको संकेत मानिन्छ।

यद्यपि, बाघको सङ्ख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, बासस्थान विस्तार र संरक्षणलाई अझ प्रभावकारी बनाउनु चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *