`

सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन

Nepal One HD १४ साउन २०८३ १८:१०
राजनीति

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठक सम्पन्न गरेको छ।

मन्त्री तथा समितिकी अध्यक्ष सिता बादीको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकमा मन्त्रालय र मातहतका निकायले आर्थिक वर्षभरि सञ्चालन गरेका नीति, कार्यक्रम, बजेट कार्यान्वयन, वित्तीय तथा भौतिक प्रगति, सेवा प्रवाह, संस्थागत सुधार तथा समग्र कार्यसम्पादनको समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।

समीक्षाका क्रममा मन्त्रालयले हासिल गरेका उपलब्धि, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती, स्रोत–साधनको उपयोगको अवस्था तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। साथै, यसअघि मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको समेत समीक्षा गर्दै आवश्यक निर्देशन र सुझाव दिइएको जनाइएको छ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री बादीले सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न मन्त्रालयका सबै निकायलाई निर्देशन दिनुभयो। उहाँले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक सुरक्षा योजनाका लाभग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री बादीले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, समयमै कार्यक्रम सम्पन्न गर्ने कार्यसंस्कृतिको विकास तथा परिणाममुखी कार्यसम्पादनलाई मन्त्रालयको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताउनुभयो। समीक्षा बैठकबाट प्राप्त सुझाव र निष्कर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै मन्त्रालयको समग्र कार्यसम्पादनलाई थप सुदृढ, परिणाममुखी र नागरिकमैत्री बनाइने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *