देवानगन्ज गोलीकाण्डका दुई युवाको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। सरकार र पीडित पक्षबीच सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टिका लागि शव परिवारलाई हस्तान्तरण गरिएको हो।
गोलीकाण्डमा मृत्यु भएका देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो। बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको हो।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव परिवारलाई बुझाइएको छ।
यसअघि गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति भएको थियो।
सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
