`

सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट

Nepal One HD १५ साउन २०८३ १९:४२
राजनीति

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल–इजरायलबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सूचना प्रविधि, डिजिटल रूपान्तरण, दूरसञ्चार, कृषि, शिक्षा र मानव स्रोत विकासका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल भएको छ ।

भेटका क्रममा राजदूत बासले सन् १९६० देखि नेपाल–इजरायलबीच रहेको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्दै सूचना प्रविधि, डिजिटल नवप्रवर्तन, कृषि आधुनिकीकरण लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न इजरायल प्रतिबद्ध रहेको बताउनुभयो ।

सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालले सूचना तथा सञ्चार प्रविधिमार्फत सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै डिजिटल पूर्वाधार, दूरसञ्चार प्रविधि र नवप्रवर्तनका क्षेत्रमा इजरायलको अनुभव तथा असल अभ्यासबाट नेपाल लाभान्वित हुन सक्ने बताउनुभयो । उहाँले सूचना प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा नेपाली युवाका लागि तालिम, अध्ययन र व्यावसायिक अनुभवका अवसर विस्तार गर्न आग्रह गर्नुभयो ।

भेटमा दुवै पक्षबीच सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *