`

‘उज्यालो नेपाल कुनै पार्टीसँग मिसिँदैन’ : कुलमान घिसिङ

Nepal One HD १६ साउन २०८३ १८:५२
प्रमुख खबर

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग एकीकरण नगर्ने, बरु अन्य दललाई समेट्ने वातावरण निर्माण गरिरहेको बताएका छन्।

शनिबार उज्यालो नेपाल पार्टी दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा प्रवेश कार्यक्रममा बोल्दै घिसिङले उज्यालो नेपाल पार्टी स्वतन्त्र रूपमा अघि बढ्ने र कुनै पनि परिस्थितिमा अर्को दलसँग नमिसिने स्पष्ट पारे।

‘उज्यालो नेपाल पार्टी बरु एक्लै रहन्छ, कुनै पनि पार्टीसँग मिसिँदैन। बरु अन्य पार्टीहरू हाम्रो पार्टीमा आउने वातावरण बनाउँदैछौँ। विभिन्न दलका साथीहरू उज्यालो नेपालमा सहभागी हुने विषयमा छलफलमा हुनुहुन्छ। देशभर पार्टीप्रतिको आकर्षण बढिरहेको छ र यो क्रम अझ तीव्र हुनेछ,’ उनले भने।

घिसिङले भविष्यमा उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने दाबी गर्दै हरित क्रान्तिमार्फत मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने लक्ष्य रहेको बताए।

‘ढुक्क हुनुहोस्, उज्यालो नेपाल पार्टीले आगामी दिनमा देशको नेतृत्व गर्नेछ। हरित क्रान्तिमार्फत समृद्ध नेपाल निर्माण गर्ने हाम्रो संकल्प हो,’ उनले भने।

दोलखा र समग्र बागमती प्रदेशमा पार्टीको प्रभाव तीव्र रूपमा विस्तार भइरहेको दाबी गर्दै उनले दोलखा उज्यालो नेपालको किल्ला बन्ने र आगामी दिनमा बागमती प्रदेशमा सरकार गठन गर्ने अवस्था सिर्जना हुने दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *