`

दीपमालाले जितिन् मिस नेपालको ताज

Nepal One HD १७ साउन २०८३ १२:५८
मनोरञ्जन

काठमाडौं । हङकङमा हुर्किएकी दीपमाला ढकालले मिस नेपालको ताज जित्दै एकैपटक तीनवटा नयाँ कीर्तिमान कायम गरेकी छन्। शनिबार सम्पन्न ग्रान्ड फिनालेमा विजेता बनेसँगै उनी मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी हुन्।

दीपमालाको यो जित व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन। विदेशमा हुर्किएको नेपाली पुस्ताको प्रतिनिधित्व गर्दै उनले नेपालसँगको आफ्नो सम्बन्धलाई राष्ट्रिय सौन्दर्य प्रतियोगिताको मञ्चमा नयाँ ढंगले प्रस्तुत गरेकी छन्।

एनआरएनएमा ‘दोस्रो पुस्ता संयोजक’का रूपमा हङकङबाट प्रतिनिधित्व गरिरहेकी दीपमाला विदेशमा जन्मिएर वा हुर्किएर पनि नेपाली पहिचान र संस्कृतिसँग जोडिएको पुस्ताको प्रतिनिधि हुन्। उनको सफलताले डायस्पोरामा हुर्किएको नेपाली पुस्ताको नेपालसँगको सम्बन्धलाई पनि चर्चामा ल्याएको छ।

दीपमालाको अर्को विशेष उपलब्धि भनेको मिस नेपाल यात्राको सुरुवातदेखि नै देखिएको निरन्तरता हो। उनले यसअघि मिस नेपाल हङकङको उपाधि जितेकी थिइन्। त्यही सफलताबाट मिस नेपाल प्रतियोगितामा प्रवेश गरेकी उनले अन्ततः मुख्य उपाधि पनि आफ्नो नाममा पारिन्। डायस्पोरा प्रतियोगिताको उपाधि जितेर त्यसपछि मिस नेपालको ताज जित्ने उनी पहिलो प्रतियोगी बनेकी छन्।

ग्रान्ड फिनालेमा उनले चारवटा सहविधासमेत जितिन्। ‘मिस भिजिनरी ग्रीन’, ‘मिस हेल्थ हार्मोनी’, ‘मिस कन्फिडेन्स’ र ‘ब्युटी विथ पर्पस’को उपाधि हात पार्दै दीपमालाले एउटै संस्करणमा सर्वाधिक सहविधा जित्ने प्रतियोगीको कीर्तिमान बनाएकी हुन्।

विशेषगरी ‘ब्युटी विथ पर्पस’को उपाधिले उनको आगामी अन्तर्राष्ट्रिय यात्राका लागि थप आधार तयार गरेको छ। अब उनले मिस वर्ल्डका लागि नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने तयारी गर्नुपर्नेछ।

दीपमालाको सफलताको अर्को भावनात्मक पक्ष पनि छ। उनको मिस नेपाल यात्रासँग आमाको अधुरो सपना जोडिएको छ। उनकी आमा रोशनीले सन् १९९४ मा मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। त्यतिबेला पूरा हुन नसकेको आमाको सपना छोरीले दशकौँपछि पूरा गरेकी छन्।

हङकङमा हुर्किएकी दीपमालाले अध्ययनसँगै सौन्दर्य प्रतियोगितामा आफ्नो यात्रा अघि बढाएकी थिइन्। आमाबाट प्राप्त प्रेरणा, डायस्पोरामा हुर्किएको अनुभव र नेपालसँगको भावनात्मक सम्बन्ध उनको यात्राका महत्वपूर्ण आधार बने।

उनको जितपछि गैरआवासीय नेपाली समुदायमा पनि उत्साह देखिएको छ। एनआरएनएका उपाध्यक्ष रोजिना प्रधानले दीपमालाको सफलतालाई गैरआवासीय नेपाली समुदायका लागि गौरवको विषयका रूपमा लिएकी छन्। उनका अनुसार यो जितले परिवारको पुरानो विरासतलाई निरन्तरता दिनुका साथै विदेशमा हुर्किएको नेपाली पुस्ताको क्षमतालाई पनि उजागर गरेको छ।

अब दीपमालाले मिस नेपालको जिम्मेवारीसँगै आगामी मिस वर्ल्डका लागि तयारी गर्नेछिन्। उनीसँगै मिस नेपाल इन्टरनेसनल आर्या निशान्त र मिस नेपाल कस्मो कशिश सुब्बाले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

आर्याले जापानमा हुने मिस इन्टरनेसनल तथा कशिशले भियतनाममा हुने मिस कस्मो प्रतियोगितामा सहभागिता जनाउनेछिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *