`

एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो

Nepal One HD १७ साउन २०८३ २१:३८
प्रमुख खबर

चितवन । भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याएको छ । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएकाहरुको निधनपछि प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो।

विभागका प्रमुख सन्देश वाग्लेका अनुसार भरतपुर महानगरपालिकाका बासिन्दा श्रम स्वीकृति लिएर गएकाहरुको विदेशमा निधनपछि निःशुल्क शव नेपाल ल्याइएको हो । उनीहरुको शव कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र पोर्चुगलबाट नेपाल ल्याइएको हो । हृदयाघात भएर, आत्महत्या, दुर्घटनामा परेर लगायत कारणले उनीहरुको मृत्यु भएको थियो।

प्रमुख वाग्लेका अनुसार विदेश जानुअघि महानगरपालिका वा नेपाल सरकारको कुनै आधिकारिक निकायबाट श्रम स्वीकृत गरेर गएकाहरुको शव महानगरले झिकाउने गर्दछ । श्रम स्वीकृतिका क्रममा निजहरुको स्वास्थ्य बिमा गर्ने गरिन्छ । वैदेशिक रोजगार बोर्डले निजहरुबाट कल्याणकारी कोषमा पनि रकम राख्ने गर्दछ ।

यसरी श्रम स्वीकृत गर्दा कल्याणकारी कोषका लागि प्रतिव्यक्ति रु एक हजार ५०० र म्यादी जीवन बिमाका लागि उमेरअनुसार रु दुई हजार ५०० देखि रु नौ हजारसम्म शुल्क लाग्ने गर्दछ । यो शुल्क दुई वर्षका लागि हुने गर्दछ ।

यसरी कोषमा रकम जम्मा गरेको र बिमा गरेकाको निधन भएमा उनीहरुको परिवारले वैदेशिक रोजगार बोर्डबाट प्रतिव्यक्ति रु १० लाख र बिमाबाट रु १४ लाख पाउने गर्दछन् । यसैगरी, आश्रित परिवारको अध्ययनका लागि छात्रवृत्तिका लागि कक्षा ८ सम्म वार्षिक रु १२ हजार र कक्षा ८ देखि १२ सम्मलाई वार्षिक रु १६ हजार उपलब्ध गराइने प्रमुख वाग्लेले जानकारी दिए।

श्रम स्वीकृत भएर विदेशमा रहेकाहरुको परिवारका सदस्य जटिल बिरामी परेमा पनि बिरामीको प्रकृति हेरेर उपचार खर्च बोर्डले दिने गरेको प्रमुख वाग्ले बताउँछन्। बिरामी भई कागजात पेस गरेका चार जनालाई यहाँबाट सिफारिस गरी उपचार खर्च दिलाइएको छ । हालसम्म रु चार लाखदेखि रु सात लाखसम्म उनीहरुले पाएको उनले जानकारी दिए। जटिल रोगका बिरामीले खर्चका आधारमा बोर्डले रकम उपलब्ध गराउँदै आएको छ।

कार्यालयले श्रम स्वीकृत गरेर गएका र विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्ने गरेको छ। परिवारले आग्रह गरेर गत वर्ष भरतपुरका दुई जनाको उद्धार गरिएको थियो। प्रमुख वाग्लेका अनुसार एक जनाको झै–झगडामा परेर प्रहरीले नियन्त्रणमा लिएपछि उद्धार गरिएको हो भने अर्काे एक जना मादक पदार्थ बिक्री गरेको अभियोगमा पक्राउ परेकाको उद्धार गरिएको छ।

गत वर्ष शव झिकाइएकाको परिवारले सोहीअनुसारको रकम पाएको उनले बताए। कतिपयलाई महानगरपालिकामा श्रम स्वीकृतिका सबै काम हुन्छन् भन्ने जानकारी नहुँदा काठमाडौँ जाने गरेको भन्दै उनले यससम्बन्धी जानकारी सबैमा हुनु आवश्यक रहेको बताए।

जहाँबाट श्रम स्वीकृति गरेको भए पनि भरतपुर महानगरवासीलाई कुनै समस्या श्रममा जाँदा परेमा सहजीकरण गर्ने काम महानगरले गरिरहेको छ । भरतपुर महानगरपालिकाबाट २०८० सालदेखि श्रम स्वीकृतिलगायत काम हुँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *