‘पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’:मन्त्री पौडेल
पाेखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकारले सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन्।
पोखराको पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा पोखरा महानगरपालिकाद्वारा आइतबार आयोजित छलफलमा उहाँले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने बताए।
पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न मन्त्रालयले विशेष पहल गरिरहेको मन्त्री पौडेलले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि नियमित अन्तरदेशीय उडान हुनुपर्ने उनको भनाइ छ।
मन्त्री पौडेलले पोखरा तालतलैया र नदीनालाको सहर भएकाले जलसम्पदामा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले पोखरामा स्वामीनारायण र ऋषि वात्सायनको मन्दिर निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरिसकेको बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विकास साझेदारहरूसँगको सहकार्यमा केही महत्त्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेका जनाउँदै दीर्घकालीन महत्वका अन्य पूर्वाधारहरू निर्माणको क्रममा रहेका बताए। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ।
“प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको विकासमार्फत पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर निरन्तर क्रियाशील रहेको छ”, प्रमुख आचार्यले भने। कार्यक्रममा पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
छलफलमा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलगायतको सहभागिता थियो।
