इतिहासबाट शिक्षा लिएर नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासबाट शिक्षा लिएर नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन् । आज २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट शिक्षा लिएर नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने बताए ।
उनले कम्युनिष्ट आन्दोलनले भोगेका अनुभव, उपलब्धि र कमजोरीहरूको सामूहिक रूपमा अध्ययन तथा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘हामीले इतिहासको समीक्षा गर्नुपर्दछ। हाम्रा गल्ती कहाँ भए भन्ने विषयमा विमर्श गर्नुपर्दछ । अगाडि जाने संकल्प गर्नुपर्दछ । निराश हुनुपर्ने कारण छैन । इतिहासका अनुभवबाट शिक्षा लिएर दृढताका साथ अगाडि बढ्यौं भने फेरि सफल हुन सक्छौं भन्ने विश्वास छ । सबै प्रमुख वामपन्थी दलका नेताहरूले सामूहिक रूपमा विमर्श गरी अनुसन्धानमूलक ढंगले इतिहासको समीक्षा गर्न सकियो भने त्यो ठूलो उपलब्धि हुनेछ । यसले आउने पुस्ताका लागि पनि अनुसन्धानमूलक सामग्री तयार गर्न मद्दत पुग्नेछ ।’
