नाट्टा निर्वाचनमा जिस्वा तुलाधर नेतृत्वको समावेशी प्यानल मैदानमा
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकाल २०२६–२०२८ का लागि जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको समावेशी प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
‘सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको प्यानलले नाट्टाको संस्थागत सुदृढीकरणसँगै पर्यटन व्यवसायको संरक्षण, आधुनिकीकरण र व्यवसायीको हितलाई प्राथमिकतामा राखेको जनाएको छ।
प्यानलले १२ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ। घोषणापत्रमा अन्तर्राष्ट्रिय बजारमा नेपालको डिजिटल प्रवर्द्धन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, पर्यटनसम्बन्धी नीतिगत तथा कानुनी सुधार, बैंक ग्यारेन्टी तथा मौद्रिक नीतिमा सहजीकरणलगायत विषय समेटिएका छन्।
प्यानलबाट अध्यक्षमा जिस्वा तुलाधर श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे, उपाध्यक्षमा प्रज्ञा शर्मा पाठक, महासचिवमा सुशिल पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल र सह–कोषाध्यक्षमा डा. विमला दाहाल उम्मेदवार बनेका छन्।
त्यस्तै कार्यसमिति सदस्यमा प्रदीप आचार्य, दिनेश घिमिरे, सुदर्शन गजुरेल, अनु अधिकारी (राउत), रोजिना रञ्जित र त्रिलोचन न्यौपानेले उम्मेदवारी दिएका छन्।
घोषणापत्रमा नयाँ तथा उदीयमान पर्यटकीय गन्तव्यको प्रवर्द्धन, डिजिटल ब्रान्डिङ, बीटूबी प्लेटफर्ममार्फत सदस्य एजेन्सीलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच, ‘सिंगल विन्डो सिस्टम’ र ‘नाट्टा हेल्प डेस्क’ स्थापना गर्ने प्रतिबद्धता गरिएको छ।
यसैगरी संकट वा महामारीका समयमा पर्यटन व्यवसाय संरक्षण, आउटबाउन्ड पर्यटनलाई आधिकारिक मान्यता, माउन्टेनरिङ, एग्रो, वेलनेस, एडभेन्चर तथा हाई–भ्यालु पर्यटनको प्रवर्द्धन र ‘नाट्टा एकेडेमी’मार्फत व्यवसायीको क्षमता अभिवृद्धिमा जोड दिइएको छ।
प्यानलले संस्थागत पारदर्शिता कायम गर्ने, सदस्य कल्याणकारी कोष स्थापना गर्ने, प्रादेशिक नाट्टा च्याप्टरलाई सुदृढ बनाउने तथा हवाई सञ्जाल विस्तारका लागि पहल गर्ने जनाएको छ।
त्यस्तै महिला, युवा तथा साना व्यवसायीको समान सहभागिता सुनिश्चित गर्दै नाट्टालाई थप उत्तरदायी, आधुनिक र प्रभावकारी संस्था बनाउने प्रतिबद्धता पनि प्यानलले जनाएको छ। IATA तथा टिकटिङतर्फ Capping Policy सुधार, ADM नियमन र ‘One Tax System’ लागू गर्न पहल गर्ने विषयसमेत घोषणापत्रमा समेटिएको छ।
