निजी क्षेत्रलाई निरुत्साहित र त्रसित बनाए अर्थतन्त्रमा गम्भीर असर पर्छ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले निजी क्षेत्रलाई नियन्त्रण र शंकाको दृष्टिले हेर्ने सरकारी नीतिले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने भन्दै व्यावसायिक वातावरण सुधार गर्न सरकारसँग माग गरेको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा जारी केन्द्रीय कार्यसमिति बैठकले निजी क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड भन्दै सरकारले संरक्षण, प्रोत्साहन र सहजीकरणको नीति लिनुपर्ने निर्णय गरेको हो।
कांग्रेसका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत, पूँजी निर्माणमा ७६.९ प्रतिशत, राजस्वमा ८० प्रतिशतभन्दा बढी र रोजगारीमा करिब ८६ प्रतिशत रहेको छ। करिब ५५ लाख नागरिक निजी क्षेत्रमा आत्मनिर्भर रहेको तथा साना, घरेलु तथा मझौला उद्योगले मात्रै ४५ लाखभन्दा बढी रोजगारी सिर्जना गरेको कांग्रेसको दाबी छ।
सरकार गठनपछि अर्थतन्त्र सुधारका लागि चालिने सकारात्मक कदममा सहयोग गर्ने प्रतिबद्धता जनाए पनि पछिल्लो समय निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण नियन्त्रणमुखी बनेको कांग्रेसको आरोप छ।
कांग्रेस प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रलाई निरुत्साहित र त्रसित बनाएर मुलुकको समृद्धि सम्भव छैन। सरकार निजी क्षेत्रलाई नियन्त्रण र शंकाको नजरले हेर्ने दृष्टिकोण छाडेर संरक्षण, प्रोत्साहन र सहजीकरणको नीति लिनुपर्छ।’
