देउवा संस्थापन वा इतर समूहका नेता मात्र नभई पार्टीका सबैको साझा नेता हुन् – चालिसे
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उनको अभिभावकीय भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता चालिसेले देउवा संस्थापन वा इतर समूहका नेता मात्र नभई पार्टीका सबैको साझा नेता भएको बताए ।
उनले लामो समय उपचारका क्रममा विदेशमा रहेका देउवा स्वास्थ्यलाभ गरी स्वदेश फर्किएकोमा खुसी व्यक्त गर्दै पार्टीको तर्फबाट स्वागत गरे । कांग्रेसको गरिमामय इतिहास निर्माणमा देउवाले पुर्याएको योगदान, त्याग, संघर्ष र अनुभवको पार्टीले उच्च मूल्यांकन गरेको उल्लेख गर्दै चालिसेले आगामी दिनमा उहाँले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
‘उहाँ संस्थापन इतरभित्र होइन, सबैको साझा नेता हो,’ चालिसेले भने, ‘उहाँको अनुभवले आगामी दिनमा पार्टीलाई अभिभावकीय भूमिका प्रदान गर्नेछ ।’
