देउवाको प्रतीक्षामा कांग्रेसको राष्ट्रिय भेला, मञ्चको बीचमा कुर्सी खाली
काठमाडौं। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले आयोजना गरेको राष्ट्रिय भेलामा निवर्तमान सभापति देउवाको प्रतीक्षा गरिएको छ।
शुक्रबार आयोजित भेलामा सहभागी अधिकांश नेताको आसन ग्रहण भइसके पनि प्रमुख अतिथिका रूपमा देउवा कार्यक्रमस्थलमा नआइपुगेका कारण भेलाको औपचारिक सुरुवातमा ढिलाइ भएको छ।
कार्यक्रमस्थलमा अहिले सञ्चालक मीन विश्वकर्माले छिटफुट रूपमा नेताहरूलाई मञ्चमा आसन ग्रहण गराइरहेका छन्। मञ्चको बीच भागमा भने देउवाका लागि कुर्सी खाली राखिएको छ।
कांग्रेस नेताहरूका अनुसार देउवाको प्रमुख आतिथ्यमा भेलाको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। देउवा आएपछि मात्रै भेलाले औपचारिक रूपमा गति लिने तयारी गरिएको सहभागीहरूले बताएका छन्।
लामो समय विदेशमा बसेर बिहीबार स्वदेश फर्किएका देउवा शुक्रबारदेखि कांग्रेसको आन्तरिक राजनीतिमा सक्रिय भएका छन्। उनले शुक्रबार बिहान पूर्वमहामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालासँग भेटवार्तासमेत गरेका थिए।
देउवाको आगमन र भेलामा उनले व्यक्त गर्ने धारणालाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक समीकरणका दृष्टिले चासोका साथ हेरिएको छ।















