`

‘कांग्रेसमा विवाद हुँदा मुलुकको लोकतन्त्र र राष्ट्रियतामै असर पर्छ’भन्दै बोले देउवा

Nepal One HD २९ साउन २०८३ २०:४८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र विवाद हुँदा मुलुकको लोकतन्त्र र राष्ट्रियतामै असर पर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीमा देखिएको असहमति र विवादलाई बृहत् एकतामा बदल्नुपर्ने बताए ।

मुलुकको राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै उनले राष्ट्रिय हित, लोकतन्त्र र राष्ट्रियताको संरक्षणका लागि कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

देउवाले समाजमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको भएको बताए। पार्टीभित्रको विवादले कांग्रेस मात्र नभई मुलुकको लोकतान्त्रिक व्यवस्था र राष्ट्रियतामासमेत असर पार्न सक्ने उनको भनाइ थियो।

देउवाले विगतमा कांग्रेसभित्र चरम विवाद र असहमति देखिए पनि सहमति, सहकार्य र मेलमिलापबाट समाधान निकालिएको स्मरण गर्दै अहिलेको विवाद पनि त्यही आधारमा टुंग्याउनुपर्ने बताए।

उनले पार्टी एकताको प्रक्रियामा कुनै एक व्यक्ति वा समूहलाई केन्द्रमा राख्न नहुने स्पष्ट गर्दै सबै नेता तथा कार्यकर्ताको भावना र योगदानको सम्मान गर्न आग्रह गरे। पार्टीभित्र देखिएका असहमतिलाई सबैको न्याय र भावनाको कदर हुने गरी बृहत् एकतामा बदल्नुपर्ने उनको जोड थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *