`

कांग्रेस राष्ट्रिय सम्मेलनका निर्णयलाई अन्तिम रूप दिन एनपी साउदको संयोजकत्वमा समिति गठन

Nepal One HD ३१ साउन २०८३ १४:३५
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसको हालै सम्पन्न राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव तथा सम्मेलनमा प्राप्त सुझावलाई समेटेर अन्तिम दस्तावेज तयार गर्न समिति गठन गरिएको छ।

साउन २० र २१ गते सम्पन्न राष्ट्रिय सम्मेलनमा राजनीतिक, आर्थिक तथा संगठनात्मक विषयमा विभिन्न प्रस्ताव प्रस्तुत भएका थिए। ती प्रस्तावमाथि प्रतिनिधिहरूबाट आएका सुझाव, धारणा र निष्कर्षलाई समेटेर परिमार्जित दस्तावेज तयार गर्ने जिम्मेवारी निवर्तमान केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ।

समितिको संयोजकमा साउद तथा सदस्यमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना रहेका छन्। समितिलाई आवश्यक सहयोग गर्न केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेललाई सहयोगीको जिम्मेवारी दिइएको छ।

समितिले राष्ट्रिय सम्मेलनका क्रममा उठेका महत्वपूर्ण विषय, प्रतिनिधिका सुझाव र छलफलबाट आएका निष्कर्षलाई समेटेर पार्टीको आगामी कार्यदिशासहितको अन्तिम प्रतिवेदन तयार गर्नेछ।

सम्मेलनबाट पारित प्रस्तावलाई आवश्यक परिमार्जन गरी तयार हुने प्रतिवेदनलाई नेपाली कांग्रेसको आधिकारिक दस्तावेजका रूपमा सार्वजनिक गरिने जनाइएको छ।

दुई दिनसम्म चलेको राष्ट्रिय सम्मेलनमा पार्टीको आन्तरिक संगठन सुदृढीकरण, राजनीतिक दिशा, आर्थिक नीति तथा आगामी निर्वाचनको तयारी र रणनीतिबारे विभिन्न विषयमा छलफल भएको थियो। समितिले तयार गर्ने प्रतिवेदनले सम्मेलनबाट तय भएका निर्णय र आगामी कार्यदिशालाई औपचारिक दस्तावेजका रूपमा समेट्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *