बदलिएको सुनिए देउवा, राजसंस्था र हिन्दुराष्ट्रतिर झुकाव
२८ साउनमा हङकङदेखि आएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा दुईवटा सवालमा मुखर बने । पहिलो, संवैधानिक राजसंस्था । दोस्रो, हिन्दु धर्म।
कांग्रेसको राजनीतिक दस्तावेजले यी दुवै एजेन्डा खारेज गरेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ । तर, देउवाको झुकाव संवैधानिक राजसंस्था र हिन्दु धर्मतिर बढ्दै गएको अड्कल हुन थालेको छ । उनले यही २९ साउनमा इतिहास भइसकेको राजसंस्थाबारे भने – ‘मैले संवैधानिक राजसंस्था मानेकै थिएँ ।’
तत्कालीन राजा ज्ञानेन्द्रमा सत्ताको अतिशय मोह नजागेको भए उक्त व्यवस्था कायमै रहने उनको आशय देखिन्छ । देउवा ती नेता हुन्, जसलाई पक्राउ गरेर जेल पुर्याउने पनि ज्ञानेन्द्र नै हुन् । जतिबेला देउवा जेल परे, हालै दिवंगत भएका नेता गोपालमान श्रेष्ठले पार्टीको कमाण्ड सम्हालेका थिए । देउवा, श्रेष्ठलगायत नेताहरू त्यसबेला कांग्रेस प्रजातान्त्रिकमा थिए ।
ज्ञानेन्द्र शाहले झण्डै १८ महिना शासनसत्ता हातमा लिए । उनी आफ्ना बुबा महेन्द्रको बाटोमा हिँडे । त्यतिबेला तत्कालीन विद्रोही नेकपा माओवादी सशस्त्र युद्धमा थियो भने सात राजनीतिक दल शान्तिपूर्ण आन्दोलनमा थिए । तर, ज्ञानेन्द्रले बल प्रयोग गर्न थालेपछि सात राजनीतिक दल र माओवादीबीच सहकार्य भयो । अन्ततः १९ दिने दोस्रो जनआन्दोलनले राजतन्त्रको जरो उखेल्यो ।
२०४७ सालको संविधानबाट हिन्दु राज्य बनेको नेपाल धर्मनिरपेक्ष राष्ट्र बन्यो । नेपालभित्र सबै धर्मले फुल्ने अवसर पाए । तर, यतिबेला देउवाले नै ‘मैले संवैधानिक राजसंस्था मानेकै थिएँ’ भनेर त्यसप्रति सकारात्मक आशय प्रकट गरेका छन् । अर्कातिर, उनले जोड दिएर भनेका छन्- ‘म हिन्दु हुँ, हिन्दु हुँ ।’
जेनजी विद्रोहको बेला देउवा निर्घात कुटिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोपालो प्रणालीअनुसार पद त्यागेपछि प्रधानमन्त्री बन्न खोजिरहेका थिए । तर, झण्डैले जीवन जोगियो । त्यसपछि देश छाडेर सिंगापुर उपचार गर्न जानुपर्यो । सिंगापुर जानुअघिसम्म उनको संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रप्रति झुकाव प्रकट भएको थिएन ।
तर, सिंगापुरबाट हङकङ हुँदै स्वदेश फर्किएपछि उनी कतै संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रप्रति सकारात्मक बनेको आशंका गर्न मिल्ने अवस्था देखिएको छ । उनले आफूपक्षीय कांग्रेसको राष्ट्रिय सम्मेलनबाट आफू पुरानो व्यवस्थातिर फर्किन तल्लिन रहेको सन्देश दिएका छन् । विगतदेखि नै हिन्दुराष्ट्रको पक्षमा स्पष्ट देखिँदै आएका शंकर भण्डारीले त संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गरेरै छाड्ने घोषणा गरेका छन् । परम्परावादी शक्ति राप्रपाका नेताहरूभन्दा भण्डारी यसबारे निकै कडा सुनिएका छन् ।
जबकि, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको नाममा राजनीति गर्दै आएको राजेन्द्र लिङ्देन र उनको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र हिन्दु धार्मिक समुदायकै अविश्वासयोग्य दल बनिसकेको छ । राजतन्त्रको एजेन्डा बोकेको र गणतन्त्रको सबलीकरण गर्ने प्रचण्ड नेतृत्वको सरकारमा लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री भए । अन्ततः गत निर्वाचनमा यो दल सोत्तर नै भयो ।
लिङ्देनको पार्टी आफ्नो आदर्श र लक्ष्यबाट विमुख भएको भन्दै धवलशम्शेर राणा जय नेपाल पार्टीका सभापति भएका छन् । उनले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको मुद्दामा चट्टान बन्ने घोषणा गरेका छन् ।
अर्कातिर, मेडिकल व्यवसायी दुर्गा प्रसाईं त भनिरहेका छन्- राजा ल्याउँछौँ, नारायणहिटीमा राख्छौँ । देशलाई हिन्दुराष्ट्र बनाउँछौँ । झण्डै तीन वर्षदेखि उनी यही अभियानमा छन् । उनले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्न र हिन्दुराष्ट्र पुनः कायम गराउन छिमेकी देश भारतको सहयोग चाहेका थिए । उनी त्यसका लागि केही महिनाअघि भारत गए । तर, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को साथ नपाएपछि उनी पछि हटे ।
तर, गत साउन १० गतेदेखि १६ गतेसम्म सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज, सिरहाको गोलबजार हुँदै धनुषाको जनकपुरसम्म फैलिएको धार्मिक तनावका बेला हिन्दुराष्ट्र पुनःस्थापनाको मुद्दा जोडले उठ्यो । गणतन्त्र नेपालका गृहमन्त्री सुधन गुरुङसँग उनकै दलका कार्यकर्ताहरूले संयुक्त हिन्दु मोर्चाको नामबाट नेपाललाई तीन महिनाभित्र हिन्दुराष्ट्र कायम गराउन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखे । भनिन्छ, गृहमन्त्री गुरुङ त्यसमा सकारात्मक भए । यसबीचमा यसबारे प्रश्न उठे । तर, उनले जवाफ दिएका छैनन् ।
यस्तो अवस्थामा देउवा स्वदेश फर्किएलगत्तै ‘म हिन्दु हुँ, हिन्दु हुँ’ भन्नु र विगतमा आफूले संवैधानिक राजसंस्था मानेकै थिएँ भनेर इतिहास भइसकेको व्यवस्थाप्रति झुकाव राख्नु सामान्य घटना होइन ।
अझ, प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम शाह राजसंस्थापक्षधर नेता हुन् । ६ वर्षअघि नै उनले देशका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई सुध्रिन मौका दिनुपर्ने भन्दै ‘राजा आऊ, देश बचाउ’को नारा लगाएका थिए । उनैलाई प्रधानमन्त्री बालेनले संविधान संशोधन कार्यदलको संयोजक बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँग सम्बन्धित र धर्मनिरपेक्षतासँग सम्बन्धित कतिपय धारा र उपधारामा संशोधनको सुझाव दिएका छन् ।
यसरी बालेन सरकार आफैंले देशलाई संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको दिशामा अगाडि बढाउँदै गर्दा अर्कातिर गणतन्त्रका प्रधानमन्त्री भइसकेका र गणतन्त्रवादी दल कांग्रेसका निवर्तमान सभापति देउवाको झुकाव पनि त्यसतर्फ नै देखिनु स्वाभाविक विषय होइन ।
प्रश्न देउवा हिन्दु हुन् कि होइनन् भन्ने होइन । उनको व्यक्तिगत धार्मिक आस्थामाथि प्रश्न उठाउने विषय पनि होइन । प्रश्न यति हो- संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षतालाई आफ्नो राजनीतिक दस्तावेजमा स्वीकार गरेको कांग्रेसका निवर्तमान सभापति नै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रप्रति सकारात्मक देखिन थालेपछि कांग्रेसको राजनीतिक दिशा कता जाँदैछ ?
