`

प्रचारबाजी छाडेर डिलरमार्फत ग्यास बाँड्‍न सरकारलाई महासंघकाे सुझाव

Nepal One HD ३१ साउन २०८३ १४:४२
बिशेष

काठमाडौं। देशभर खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघले परम्परागत विक्रेता तथा डिलरलाई वितरण प्रणालीबाट पन्छाएर उद्योग र अन्य केन्द्रमार्फत ग्यास बिक्री गर्ने सरकारी नीतिका कारण बजारमा झन् अव्यवस्था बढेको दाबी गरेको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानलका रूपमा रहेका विक्रेता तथा डिलरलाई बेवास्ता गर्दै उद्योग र विभिन्न बिक्री केन्द्रबाट ग्यास बिक्री गरिँदा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन्। उनका अनुसार वितरण प्रणालीलाई व्यवस्थित गर्नुको सट्टा विभिन्न माध्यमबाट प्रत्यक्ष बिक्री गराउने प्रयासले बजारमा रहेको अभावलाई थप जटिल बनाएको हो।

महासंघले एकातर्फ विक्रेतालाई पर्याप्त ग्यास उपलब्ध नगराउने र अर्कोतर्फ अनुगमनका नाममा विक्रेतामाथि अनावश्यक दबाब तथा दुःख दिने सरकारी कार्यशैलीप्रति आपत्ति जनाएको छ। यसले ग्यासको बजार व्यवस्थापन थप भद्रगोल बनेको महासंघको निष्कर्ष छ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ।’

महासंघले ग्यास उद्योग तथा विभिन्न नाममा सञ्चालित बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री तत्काल रोक्न र विक्रेतामार्फत मात्र ग्यासको बिक्री–वितरण व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ। डिलर तथा विक्रेतालाई वितरणको जिम्मेवारी दिएर प्रणालीलाई व्यवस्थित बनाइए मात्रै उपभोक्ताले भोग्दै आएको सास्ती कम गर्न सकिने महासंघको दाबी छ।

महासंघका अनुसार पछिल्लो समय देशमा ग्यासको आपूर्ति र मागबीचको सन्तुलन बिग्रिँदै गएको छ। विगत चार महिनामा मात्रै करिब ६० हजार टन एलपी ग्यास कम आयात भएको तथ्यांक महासंघले सार्वजनिक गरेको छ। आयातमा आएको कमीले बजारमा ग्यासको उपलब्धता प्रभावित भएको र त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको महासंघको भनाइ छ।

त्यसैगरी बजारमा आवश्यकताभन्दा बढी संख्यामा सिलिन्डर छरिएको विषयलाई पनि महासंघले अहिलेको संकटको अर्को कारणका रूपमा औंल्याएको छ। महासंघका अनुसार बजारमा करिब ८० लाख नयाँ सिलिन्डर थपिएका छन्। माग र वितरण प्रणालीको वास्तविक अवस्थालाई ध्यान नदिई नयाँ सिलिन्डरको बिक्री भइरहँदा भविष्यमा समेत ग्यास व्यवस्थापनमा थप समस्या उत्पन्न हुन सक्ने महासंघको चेतावनी छ।

महासंघले अहिले पनि नयाँ सिलिन्डरको बिक्री नरोकिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। नयाँ सिलिन्डर थपिँदै जाने तर ग्यासको आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित नहुने हो भने आगामी वर्षहरूमा ग्यास अभावको समस्या अझ गम्भीर बन्ने महासंघको दाबी छ।

ग्यास विक्रेता महासंघले बजारमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि आयात, वितरण र बिक्री प्रणालीको समग्र समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएको छ। विक्रेता तथा डिलरलाई वितरण प्रक्रियाबाट अलग गरेर उद्योग वा विभिन्न बिक्री केन्द्रबाट मात्रै ग्यास उपलब्ध गराउने प्रयासले समस्या समाधान नहुने महासंघको भनाइ छ।

महासंघले सम्बन्धित निकाय नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सरकारमाथि वास्तविक समस्या पहिचान गरी समाधान खोज्नुको सट्टा अनावश्यक प्रचारबाजीमा केन्द्रित भएको आरोपसमेत लगाएको छ। बजारमा ग्यासको वास्तविक उपलब्धता, आयातको अवस्था, वितरण प्रणाली र उपभोक्ताको मागबारे गम्भीर अध्ययन गरी तत्काल आवश्यक कदम चाल्न महासंघले आग्रह गरेको छ।

देशका विभिन्न ठाउँमा उपभोक्ताहरू ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने, तोकिएको समयमा सिलिन्डर नपाउने तथा ग्यासको खोजीमा विभिन्न बिक्री केन्द्र धाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै महासंघले वितरण प्रणाली तत्काल सुधार गर्नुपर्नेमा जोड दिएको छ।

महासंघले ग्यास उद्योगबाट विक्रेतालाई पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउने, डिलरको वितरण प्रणालीलाई प्रभावकारी बनाउने तथा अनावश्यक रूपमा प्रत्यक्ष बिक्री गराउने प्रवृत्ति रोक्ने हो भने अहिले देखिएको समस्या क्रमशः समाधान गर्न सकिने जनाएको छ।

यसैगरी, ग्यासको आयात घटेको अवस्थामा बजारमा उपलब्ध सिलिन्डरको व्यवस्थापन, आयातको नियमितता र वितरण प्रणालीमा देखिएका कमजोरीलाई एकसाथ सम्बोधन गर्नुपर्ने महासंघको माग छ। अन्यथा तत्कालको अभाव मात्रै नभई आगामी दिनमा समेत एलपी ग्यासको आपूर्ति व्यवस्थामा गम्भीर संकट आउन सक्ने महासंघले चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *